परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन्।
भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शुक्रबार दिउँसो भारत प्रस्थान गरेका हुन्।
नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका परराष्ट्र मन्त्री खनाललाई भारतीय विदेश मन्त्रालयमा नर्थ डेस्क हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गरेका थिए।
नयाँ दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँद मन्त्री खनालले भ्रमणका क्रममा नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ, जसमा व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुबै पक्षले आपसी हितका विषयमा छलफल गर्ने बताए।
परराष्ट्रमन्त्री खनालले लामो समयपछि हुन लागको भ्रमणमा मुलुकको हितका बिषयमा छलफल हुने जानकारी दिए।
बहुचर्चित नेपाल–भारत सीमा विवादकाबारेमा पनि छलफल र वार्ता हुन्छ कि भन्ने प्रश्नको जवाफमा मन्त्री खनालले प्रतिक्रिया दिन अनिच्छा व्यक्त गर्दै भने, ‘यसबारे स्पेसिफिक रुपमा अहिले बोलिन। पक्कै पनि हाम्रा प्राथमिकता सबै विषयहरुमा हामी सम्वाद गर्छौ।’
नयाँ सरकार आएको अवस्थामा यसका प्राथमिकताका बिषयमा पनि भारतसंग छलफल हुने उनले बताए।
उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किनुहुने मन्त्रालयले जानकारी दिएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बहुचर्चित भारत भ्रमण सकिने दिनमा नै परराष्ट्र मन्त्र खनाल भारत भ्रमणमा निस्कनुलाई कतिपय राजनीतिक तथा कुटनीतिक विश्लेषकहरुले थप उत्सुकताकासाथ हेरिरहेका छन्।


