राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको विद्यमान समस्याहरु चरणबद्ध रुपमा समाधान गरिने बताएका छन्।
पाँच दिने भारत भ्रमणसम्पन्न गरि शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै सत्तारुढ दल रास्वपा सभापति लामिछानेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषय कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा समाधान गरिने बताएका हुन्।
लामिछानेले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्वपूर्ण हुने भएकाले हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने जिकिर गरे।
लामिछानेले अभियन्ता, पत्रकार र राजनीतिक दलले उठाउने विषय तथा तिनको संवेदनशीलता फरक हुने भन्दै राष्ट्रिय हितसँग जोडिएका विषयमा जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
स्मरण रहोस्, कुनै समय पत्रकारिता क्षेत्रमा कार्यक्रम प्रस्तोताका रुपमा क्रियाशील रहँदा टेलिभिजनको पर्दाहरुमार्फत टेलिभिजन र अडियोमाध्यमका साउण्ड सिस्टम नै फुट्नेगरी भारतीय पक्षबाट नेपालको सीमा अतिक्रमण भइरहँदा पनि जिम्मेवारीमा बसेका दल र सम्बन्धित पदाधिकारीहरुले मौनता साँधेर बसिरहेको र राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतालाई नै दाउमा राखेको आरोप लगाउँदै कुर्लिने गर्दथे।
त्यतिमात्रै होइन, लामिछाने स्वयंको दलका तर्फबाट सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री बालेन्द्र साहले जेठ १७ गतेको प्रतिनिधि सभा बैठकमार्फत नेपाल–भारत सीमा विवादको सन्दर्भमा अत्यन्त विवादस्पद र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर नेपाल र भारत दुबैतर्फ आलोचनाको तीर खेपिरहँदा त्यसबारे खासै प्रतिक्रिया दिएका थिएनन्।
तर, भारतीय जनता पार्टीको निमन्त्रणमा भारतको भ्रमण गरी फर्किएका लामिछानेले ेशुक्रबार भने धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने गरेकामा आफ्नो भारत भ्रमणमा क्रममा पारदर्शी रुपमा छलफल भएको दावी गरे।
भारतीय प्रधानमन्त्रीसंगको छलफलमा समृद्धिको बिषयलाई बिशेष जोड दिएको जानकारी पनि दिए।
लामिछानेले नेपाल–भारत सम्बन्धका केही पक्ष रिसेट गर्न आफ्नो भ्रमणले मद्दत गर्ने भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप सकारात्मक ढंगले अघि बढ्ने विश्वास पनि व्यक्त गरे।
सीमाका बिषयमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका धारणा र त्यसबारे परराष्ट्र मन्त्रालयले जारी गरेको आधिकारिक धारणालाई नै सरकारको औपचारिक दृष्टिकोण मान्नुपर्ने उनको भनाई छ।
लामिछानेले भारतीय जनता पार्टीका अध्यक्षका अतिरिक्त प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा गरेको र सकारात्मक जवाफ पाएको बताए।


