करिब डेढ महिनाअघि विवादमा परेपछि पदमुक्त गरिएका तत्कालीन गृहमन्त्री सुधन गुरुङलाई प्रधानमन्त्री बालेन्द्र साहले मंगलबार पुरानै जिम्मेवारीमा फर्काएका छन्।
विगत लामो समयदेखि गृहमन्त्रालयको जिम्मेवारी पनि आफ्नै मातहतमा राख्दै आएका प्रधानमन्त्री साहले मंगलबार गुरुङलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपति कार्यालयमा नियुक्तिको सिफारिससँगै पद तथा गोपनीयताको सपथका लागि पत्र पठाएपछि ४९ दिनअघि छाडेको मन्त्रालय गुरुङकै जिम्मामा आज आइपुगको हो।
प्रधानमन्त्री साहको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजै गुरुङलाई गृहमन्त्री र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको सपथ दिलाए।
सरकारका मन्त्रीहरुको व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा गुरुङले सार्वजनिक गरेको चल÷अचल सम्पत्ति, नगद तथा शेयर र गरगहनाको विवरण र त्यसको वैधानिक स्रोतबारे चौतर्फी प्रश्न उठेपछि अनुसन्धान र छानविनको प्रक्रिया सहज बनाउन भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।
उनको पारिवारिक पृष्ठभूमि र व्यवसायिक संलग्नताको विषयले पनि गुरुङको सम्पत्ति विवरणबारे प्रश्न उब्जिएको थियो।
त्यसको लगत्तै सरकारले उनको सम्पत्ति विवरणबारे छानविन गरी प्रतिवेदन बुझाउन उच्च अदालतका न्यायाधीश अच्यूतरमण भण्डारीको संयोजकत्वमा समिति गठन गरेको थियो।
उक्त समितिले तयार पारेको प्रतिवेदनमा पूर्वानुमान बमोजिम नै उनको सम्पत्तिको स्रोतमा वैधानिकता दिँदै आरोप मुक्त गराउने गरी सरकारसमक्ष प्रतिवेदन बुझाइएपनि उक्त प्रतिवेदनबारे सरकारले कुनै औपचारिक निर्णय वा सार्वजनिक नै नगरी सुधनलाई गृहमन्त्रीमा पुनःनियुक्तको प्रक्रिया सुरु गरिएको हो।



