प्रधानमन्त्री बालेन्द्र साहले विगतमा भएका बदमासी, सरकारी सम्पत्ति र रकमको दोहनका विरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता दोहोर्याएका छन्।
आइतबारदेखि चितवनमा सुरु भएको सत्तारुड राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता साहले भ्रष्टाचार अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पाँच वर्ष नै राखेर सरसल्लाह गर्नुपरे पनि पार्टी तयार रहेको उल्लेख गर्दै सबै काम नियम कानुनभित्रै बसेर भइरहेकाले हल्लाका पछि नलाग्न आग्रह गरे।
केही दिनअघि प्रधानमन्त्रीका सहयोगीहरुले अख्तियारका पदाधकारीहरुलाई प्रधानमन्त्री कार्यालयमा घण्टौंसम्म राखेर दुव्र्यव्यहार गर्दै आफूहरुले चाहेबमोजिमका व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न र मुद्दा चलाउन दबाब दिएको समाचार प्रकाशित भएपछि सरकारको चौतर्फी आलोचना हुन थालेको थियो।
यसका बाबजूद सरकारको तर्फबाट कुनै औपचारिक खण्डन नआइरहेको बेला आइतबार भने प्रधानमन्त्री साह स्वयंले उक्त समाचारलाई सत्य सावित हुनेगरी अभिव्यक्ति मात्रै दिएनन्, आवश्यक परे पाँच वर्ष नै यसैगरी गतिविधि गर्ने संकेत दिए।
उनले नेपालको सीमा र राष्ट्रियताका विषयमा आफ्नो प्रतिबद्धता अकाट्य रहेको प्रष्ट पार्दै कालापानी र लिपुलेक नेपालकै भएको बलियो प्रमाण आफूहरूसँग सुरक्षित रहेको दाबी गरे।
जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा अचानक उपस्थित भएर सीमा सम्बन्धी सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा भारतीय पक्षले नेपाली सीमा अतिक्रमण गरेको मात्रै नभई नेपालले पनि कतिपय ठाउँमा भारतीय भूमी मिचेको जानकारी आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको र सीमाको विषयमा तत्कालीन इष्ट इण्डिया कम्पनीको रुपमा भारतमा शासन गरिबसेको वेलायतको सहभागीताको बारेमा पनि कुराकानी भइरहेको भन्ने विवादस्पद अभिव्यक्ति दिएका थिए।
त्यसपछिका दिनमा सदनभित्र र बाहिर विपक्षी दलहरुले निरन्तर प्रधानमन्त्रीको उक्त भनाईको थप स्पष्टिकरण खोज्दै सदनको रेकर्डबाट हटाउन माग गर्दैआएपनि प्रधानमन्त्री साहले यसबारे सदनमा उपस्थित भएर जवाफ दिन तयार भएकै थिएनन्।
तर, आजको सार्वजनिक कार्यक्रममा उक्त विषयमा बोल्दै र आफ्नो आशय सच्याउादै छिमेकी देशहरूसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर समस्या सुल्झाउन सरकार तयार रहेको बताए।
प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता शाहले पार्टीभित्र गुट र उपगुट बनाउने संस्कारलाई पूर्ण रूपमा निषेध गर्न कार्यकर्ताहरूलाई निर्देशन पनि दिए।
राजनीतिक संस्कार परिमार्जन गर्नुपर्नेमा जोड दिँदै शाहले एउटा राम्रो राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने भन्दै पार्टीभित्र गुटबन्दीको बीउ अहिले नै नरोप्न सचेत गराए।
उनले रास्वपा नयाँ सोच र एजेन्डासहित आएकाले सुकुम्बासी र सहकारी समस्या यही कार्यकालभित्रै समाधान गरिने र अर्को चुनावमा यो मुद्दा दोहोरÞ्याउनु नपर्ने दाबी पनि गरे।



