हिमाल दैनिक
रास्वपाको प्रथम अधिवेशन सुरु, प्रतिशोध र दम्भबाट पार्टीलाई टाढै राख्ने सभापति रविको उद्घोष

पार्टी स्थापनाको चार वर्ष पुग्दानपुग्दै देशकै शक्तिशाली दलको रुपमा स्थापित हुँदै सत्ताको नेतृत्व लिन सफल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा सुरु भएको छ। 

आइतबारदेखि तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिनको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि प्रतिनिधिलाई अतिथिको रुपमा आमन्त्रण गर्दै पार्टीको चुनाव चिन्ह घण्टी बजाएर सुरुवात गर्यो। 

उद्घाटन सत्रमा कार्यक्रमलाई सम्बोधन गर्नै रास्वपा सभापति लामिछानेले पार्टीले प्राप्त गरेको अभूतपूर्व जनमतलाई सन्ततिको हित र देशको समृद्धिका लागि पूर्ण इमानदारिताका साथ
सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति लामिछानेले रास्वपा प्रतिशोध र दम्भभन्दा टाढा रहेर नागरिक जिम्मेवारी पूरा गर्न दृढ रहेको बताए।

उनले विगतका ऐतिहासिक आन्दोलन र बलिदानहरूको तिरस्कार नगरिने प्रष्ट पार्दै रास्वपाले आफ्नो राजनीतिक सीमा कहिल्यै ननाघ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले महाधिवेशन भन्दा अगाडि नै इतिहासमा विरलै प्राप्त हुने दुई तिहाइको यो ऐतिहासिक जनमतलाई खेर जान नदिने र भविष्यका सन्ततिले सोध्ने प्रश्नहरूको सामना गर्न सक्ने गरी परिणाममुखी काम गर्ने दृढता व्यक्त व्यक्त गरे।

सभापति लामिछानेले पार्टीभित्र गुट र उपगुट बनाउने प्रवृत्तिले भोलि विषालु फल दिने भन्दै उनले कार्यकर्तालाई त्यस्तो बिउ नलगाउन चेतावनी दिए।

सरकार सञ्चालनका सन्दर्भमा बोल्दै लामिछानेले चुनावअघि नै पार्टीले प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र साहलाई बलियो बनाइसकेको र अब देश विकासको ’गोल’ हान्ने मुख्य जिम्मेवारी शाहकै भएको बताए।

सभापति लामिछानेले राष्ट्रिय राजनीति सफल हुन सबै दलहरू सक्षम हुनुपर्ने भन्दै प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक अप्ठ्याराहरू सुल्झाउन सुझाव दिए।

दलहरूका आन्तरिक समस्याले देशकै गति रोक्न सक्ने भन्दै उहाँले राजनीतिक वैमनस्यतालाई त्यागेर इतिहास र
भविष्यका लागि सहकार्यको बाटो रोज्नुपर्नेमा जोड दिए। 

आजदेखि तीन दिनसम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि पार्टी सभापतिमा पुनः लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री साहलाई सर्वसम्मत चयन गर्दै दोहोर्याउने तथा अन्य पदाधिकारी तथा सदस्यहरुको चयन गरी समापन हुने बताइएको छ।  

 

प्रकाशित मिति: आइतबार, असार ७, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update