राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्य पदका लागि ३८४ जनाको उम्मेदवारी परेको छ।
आइतबारदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको चौथो दिन बुधबार केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार, ९९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।
जसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ।
केन्द्रीय सदस्यमा एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन्। सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि २१० जनाको उम्मेदवारी परेको हो।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेस प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ३१ जना, कोशी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ३१ जना, बागमती प्रदेशमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ।
रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत करिब ४ हजार प्रतिनिधि सहभागी रहेको बताइएको छ।
निर्वाचन समितिका अनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ। भोटिङका लागि ८० वटा मेसिन राखिएको छ। मतदान साढे ८ बजेबाट सुरु गर्ने तयारी गरिएको छ। यद्दपी दावीविरोधपछि मात्रै उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने भएकाले विद्युतीय मतदान प्रणालीमा नाम प्रवृष्टि गर्न केहि समय लाग्ने देखिएको छ।
एक व्यक्तिलाई ढिलोमा १५ मिनेट लागे पुरै मतदान सकिन कम्तिमा ८ देखि १० घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।



