हिमाल दैनिक
आस्था राउतको दसैं कोशेली– ‘यानी माया’ (भिडियो)
Aastha-raut
गायिका आस्था राउतले आफ्नो चिरपरिचित अन्दाजमा नयाँ गीत ‘यानी माया’ लिएर दर्शक–स्रोतामाँझ ल्याएकी छन् । म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी यो गीत शनिबार सार्वजनिक गरिएको हो । गीतका शब्दहरु सुरेश अधिकारीका हुन् भने संगीत पनि उनैले दिएका छन् । गीतमा महाराज थापाको एरेन्जमेन्ट रहेको छ । यो गीतलाई आस्थाको एल्बम ‘आधार २’ मा समावेश गरिएको छ । लोक र पपको फ्युजनजस्तो सुनिए पनि यो गीत सुगम संगीतकै विधामा पर्ने संगीतकार अधिकारी बताउँछन् । सरल र मिठासपूर्ण शब्दहरु रहेकाे उनकाे गीतमा आस्थाको टिपिकल आवाज सुन्न सकिन्छ । प्राकृतिक दृष्यावलीमा खिचिएको गीतको भिडियो सुन्दर र शालिन छ । भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठले अभिनय गरेका छन् । वरिष्ठ लोकगायक हरिबहादुर राउत र म्युजिक नेपालको संयुक्त निर्माणमा तयार भएको यानी माया गीतको निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमको हो । दशैंको रमाइलो माहोललाई संगीतमय बनाउनका निम्ति यो गीत अहिले रिलिज गरेको आस्थाले बताइन् । आफूले गाउँदै आएको प्याट्रनमा भए पनि यो गीतले सबै खाले संगीतका पारखीलाई छुन सक्ने उनको विश्वास छ । ‘यो गीत सम्पूर्ण संगीतप्रेमीका निम्ति मेरो दशैं उपहार हो,’ उनले भनिन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update