
संसद विघटनको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस पर्साले विशाल विरोध प्रदर्शन गरेको छ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेर संविधान, संसदीय लोकतान्त्रिक शासन व्यवस्था र जनभावनामाथि अतिक्रमण गरेको भन्दै कांग्रेसले सोमबार आयोजना गरेको देशव्यापी विरोध प्रदर्शन अनुरुप पर्सा कांग्रेसले चारवटै निर्वाचन क्षेत्रमा बेग्लाबेग्लै विरोध प्रदर्शन गरेको हो।
संविधान सभाका तत्कालिन सभासद एवम् कांग्रेस नेता अनिल रुंगटा, जिल्ला सभापति अजय द्धिवेदीको नेतृत्वमा क्षेत्र नम्बर एकको वीरगन्जमा आयोजित विरोध जुलुस प्रदर्शनमा सहभागी भए।
प्रम केपी ओलीले देशमा सर्वसत्तावादी, दमनकारी, विभेदकारी व्यवहार एवम् कोभिड १९ को नियन्त्रण र उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरीद लगायतमा गरेको भ्रष्टाचार समेतको विरुद्धमा विरोध जुलुस प्रदर्शन गरिएको नेता रुंगटाले जनाए।
यसैगरि पर्साको क्षेत्र नम्बर ४ केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा धोबनी गाउपालिकाको लंगडीमा विशाल विरोध प्रदर्शन गरिएको थियो।
विरोध प्रदर्शनमा बुद्धिजीवी, विभिन्न पेशा व्यवसायिक व्यक्तित्वको सहभागिता रहेको थियो।
निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाले प्रधानमन्त्री ओली र उनको पार्टी नेकपाले संविधान र लोकतन्त्रमाथि कुठाराघात गर्नुका साथै जनताको मतको अवमूल्यन गरेको आरोप लगाउँदै आफ्नो दल ताजा जनादेशमा जान तयार रहेको बताए।
साथै उनीहरुले संविधान र लोकतन्त्रको रक्षासँगै जनताका समस्याहरुको समाधानका लागि कांग्रेसको नेतृत्व सक्षम र आवश्यक भएको बताएका थिए।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय