हिमाल दैनिक
सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लगाउँदै आएको प्रतिबन्ध हटाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले चन्द समूहमाथि लगाएको प्रतिबद हटाउने निर्णय गरेको हो। पार्टी र संसदभित्र असहज परिस्थितिमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारले एकाएक वार्ता समिति गठन गर्दै दुई दिनमै बिहिबार बिहान उक्त समूहसँग तीन बुँदे सहमति गरेलगत्तै साँझ आफैँले करिब दुई वर्ष अघि लगाएको प्रतिबन्द हटाउने निर्णय गरेको हो। बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारका तर्फबाट वार्ता टोलीलाई धन्यवाद दिइएको जानकारी दिँदै विभिन्न प्रकारका हिंसात्मक गतिविधि गरिरहेको सो समूहसँग वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिक गतिविधिमा ल्याउन र मुलुकलाई शान्तिपूर्ण बनाउनका लागि नेपाल सरकारले गरिरहेको प्रयासमा महत्वपूर्ण सफलता मिलेको बताए। नयाँ संविधान र परिवर्तित राजनीतिक शासन व्यवस्थाको विरुद्धमा पूर्व माओवादी नेता चन्दले असहमति जनाउँदै नयाँ माओवादी पार्टीको नाममा पुनः सशस्त्र विद्रोहको तयारीमा भूमिगत हुन पुगेका थिए। त्यसपछि उक्त पार्टीले गरेको हिंसात्मक गतिविधिको विरोधमा सरकारले ०७५ फागुन २८ गते उक्त समूहलाई अपराधिक समूहको संज्ञा दिँदै उसका गतिविधिमाथि प्रतिबन्ध लगाएको थियो। आज बिहानको सहमतिमा चन्द समूहका सम्पूर्ण गतिविधि शान्तिपूर्णरूपमा सञ्चालन हुने र सरकारका तर्फबाट उसका गतिविधिमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने जनाइएको थियो। सहमतिपछि जारी गरिएको विज्ञप्तिमा नेपाल सरकारबाट उक्त समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ गर्ने र मुद्दा खारेजी गरिने उल्लेख छ। सहमतिको विस्तृत विवरण शुक्रबार अपराह्न २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने सहमतिपत्रमा उल्लेख छ। उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका तर्फबाट महासचिव चन्दले सम्बोधन गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update