हिमाल दैनिक
कुटनीतिक मर्यादा र स्थापित मान्यता विपरित भारतीय गुप्तचर संस्थाका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको गोप्य भेटवार्ताको विरोध गर्नेहरुलाई ‘अस्वस्थ मानसिकता’ बोकेका व्यक्तिहरु प्रायोजित कुप्रचार भएको आरोप उपप्रधानमन्त्री ईश्वर पोखरेलले लगाएका छन्। विपक्षी दलका नेतादेखि विभिन्न कुटनीतिक क्षेत्रका विज्ञहरु मात्र नभएर स्वयं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत प्रधानमन्त्री ओली र गुप्तचर प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताप्रति तिब्र असन्तुष्टि व्यक्त गरेपछि उपप्रधानमन्त्री पोखरेलले आफ्नो पदीय मर्याताको समेत ख्यालै नगरी प्रतिवादमा उत्रिएका हुन्। प्रधानमन्त्री ओलीको बचाउका लागि ६ दिनपछि सरकारी तहबाट बचाउ गर्ने क्रममा उपप्रधानमन्त्रीले रअ प्रमुखसँगको भेट प्रायोजित कुप्रचार भएको दाबी गरेका छन्। सोमबार बिहान आफ्नो फेसबुकमार्फत ओलीको बचाउ गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका छन्, ‘उहाँहरु (विरोध गर्नेहरु)ले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नु पर्छ भन्ने अस्वस्थ मानसिकता बोरेर यी सबै काम गरिरहनु भएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ।’ गत बुधबार अचानक भारतीय एयरफोर्सको विशेष विमानबाट काठमाडौं आई रअ प्रमुख गोयलले सोझै बालुवाटारमा प्रधानमन्त्री ओलीसँग घण्टौं गोप्यवार्ता गरि बिहिबार नयाँ दिल्ली फर्किएपछि पनि उनको भ्रमणबारे औपचारिक जानकारी नदिएको सरकारले आज भने गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा आएको दाबी समेत गरेको छ। उक्त भेटवार्ताको विषयमा नेपालको परराष्ट्र मन्त्रालयको जानकारी र स्वीकृतिमा गोयल आएको भन्दै पोखरेलले यसका लागि नेपालका लागि भारतीय दूतावासले पत्राचार र पहल गरेको दाबी समेत गरेका छन्। बुधबार साँझ बालुवाटारमा भएको भेटवार्तामा परराष्ट्र मन्त्रालयको कुनै प्रतिनिधि उपस्थित नगराई प्रधानमन्त्री ओलीले भेटवार्ता गरेपनि उपप्रधानमन्त्री पोखरेलले ओलीको बचाउमा वार्ताका क्रममा ओलीसित रहेका प्रतिनिधिहरुले गोयलसँग भएको कुराकानी जिम्मेवारीपूर्वक सुनेको र टिपोट गरेको भन्दै त्यसको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा सुरक्षित रहेको बताएका छन्। साथै पोखरेलले गोयलसँग दुई देशबीचको सम्बन्धमा खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा छलफल केन्द्रित रहेको र त्यहाँ पनि नेपालले राख्दै आएका अडानहरुबारे जानकारी गराएको दाबी गरेका छन्। ‘वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरुका आधारमा देखापरेका समस्याहरुको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो। त्यहाँ गोयल(हरु)का तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रुपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाई राखिएको थियो,’ पोखरेलले भनेका छन्। दुई देशबीचमा रहेका कुनै पनि समस्याको समाधान संवादकै माध्यमबाट समाधान गर्न सकिन्छ भन्ने वार्ताको निश्कर्ष रहेको दाबी पनि उनले गरेका छन्। यसरी सरकारको बचाउ गर्ने क्रममा पोखरेलले भारतसँगको असहज परिस्थितिलाई यही अवस्थामा रहन दिनुहुन्न भन्ने मान्यताले गरिएको प्रयन्तलाई केही मानिसहरुले किन बिरोध गरिरहेका छन् र यसको आडमा ओली सरकारविरुद्ध खनिँदैछन् भनि प्रश्न मात्र गरेका छैनन् कारण समेत उल्लेख गरेका छन्। ‘अहिले धेरै कुरा किन गर्ने! उहाँहरुले वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ्य मानसिकता बोकेर यी सबै काम गरिरहनु भएको छ भन्ने कुरा ठोकेर भन्न सकिन्छ,’ उनले भनेका छन्।
प्रटोकल र पदीय मर्यादाको विषय उठाएर लगाइएका आरोपहरु कम्युनिष्ट पार्टीको सरकार विरुद्ध गरिएको गलत खालको बहसको श्रृजना भएको पनि उनको दाबी छ। आफ्नै पार्टीका प्रवक्तादेखि कतिपय नेताहरुले व्यक्त गरेका असन्तुष्टिप्रति पोखरेलले दुर्भाग्यको संख्या दिँदै भनेका छन्, ‘कम्युनिष्ट पार्टीकै कतिपय नेताहरु समेत यस अभियानमा संलग्न हुन खोजेका देखिँदैछन्।’ ओली सरकारका विरुद्ध उत्रिएका मानिसहरु अहिले जुन निर्लज्जतापूर्वक लागेका छन् उनीहरु विगतमा छिमेकीको न्यानो काखमा सुतेर देशका विरुद्ध गतिविधि गर्ने तथा रअका हाकिमसित भेट्न तँछाड मछाड गर्नै खुसामद र विन्ती विसाउनेहरु भएको आरोप पनि लगाएका छन्। पोखरेलका अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेता नारायण खड्काले कडा प्रतिवाद गर्दै कुटनीतिक मर्यादा, स्थापित मान्यता र राष्ट्रिय स्वाभिमान विपरित भएको कदमको बचाउका लागि गरिएको बर्बराहटको संज्ञा दिएका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update