हिमाल दैनिक
प्रधानमन्त्रीज्यू मेरो परिक्षा कहिले हुन्छ?
rohan acharya
सम्माननीय प्रधानमन्त्री ज्यु, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं। विश्वब्यापी महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि फैलिँदै गएकोले आजसम्म ९ हजारभन्दा बढी नेपालीमा भाइरसको संक्रमण भएको छ। जसमध्ये २३ जनाको मृत्यु भइसकेको छ। भाइरसबाट बचाउन नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ। लकडाउनको कारण खाइ पाई आएको जागिर गुमेपछि दैनिक ज्याला मजदुरी गर्ने जनताहरू खान नपाएर भोकभोकै बस्न बाध्य भए। सरकारले उनीहरूलाई भनेर अर्बौ राहत बाँडेको सुनियो तर आफ्नो घर नजिकै राहत बाँड्दा केही गरिबहरुले राहत नपाएको देख्दा त्यत्रो रकम कहाँ गयो होला भनेर सोचमग्न हुन्छु। पाउनेले पनि त्यतिबेला बाँडिएको राहतको खानेकुराले उनीहरूलाई एक महिना पनि पुगेन होला, त्यसैले उनीहरु अहिले फेरि राहतको आशामा छन्। लक डाउन भएकाले ज्याला मजदुरीसमेत गर्न पाएका छैनन्। यस्तो अवस्थामा उनीहरूलाई कम्तिमा एक महिना जतिलाई पुग्ने गरी राहत दिए धेरै राम्रो हुन्थ्यो। नेपाल भित्रै एउटा जिल्लाबाट अर्को जिल्लामा लगिएका तरकारीहरु खाल्टोमा गाड्नु राम्रो होइन। यसो गर्दा किशानले दुस्ख गरेको पसिना खेर गयो र किन्नु पर्नेले महँगो मूल्यमा किन्नुपर्‍यो। अब त्यस्तो कहिल्यै पनि नहोस् र किसान रून नपरोस्। भारतमा काम गर्न गएका नेपाली दाजुभाइ दिदीबहिनी त्यहाँ काम नपाएर भोकभोकै भएपछि आफ्नै खेत बारीमा दुस्ख गरेर खाउँला, परिवार पालौंला भनेर रातारात स्वदेश फर्कनेलाई सीमामै रोकियो। त्यहाँ खान बस्न कुनै सुविधा नभएको कुरा सुन्दारपढ्दा ज्यादै दुस्ख लाग्यो। उनीहरुलाई नेपाल पस्न दिएर क्वारेन्टाइनमा राखिदिएको भए सायद आजको अवस्था आउने थिएन। अहिले उनीहरू प्रायस् सबै आफ्ना जिल्लामा पुगिसकेका छन्। उनीहरू मध्ये अधिकांशमा भाइरसको संक्रमण देखिएको छ। उनीहरुबाट परिवार र समाजमा भाइरस सरेर थप डरलाग्दो अवस्था आउने हो कि भन्ने चिन्ता थपिएको छ। यस्तो डरलाग्दो अवस्थामा भाइरसको संक्रमणबाट अरुलाई बचाउन उनीहरुको स्वाब निकालेर पीसीआर परीक्षण गर्नुपर्छ भनेर विज्ञहरूले भन्ने गरेको रेडियो टिभीमा सुन्ने देख्ने गरेका छौं। म कक्षा ११ को परीक्षाको तयारी गरेर बसेको अवस्थामा कोरोना भाइरस सर्ने डरले सरकारले एसईई लगायतका हाम्रो परीक्षा अर्को सूचना नभए सम्मको लागि नगर्ने निर्णय गर्‍यो। परीक्षाको तयारी गरिरहेका म जस्ता लाखौँ विद्यार्थीलाई थपिएको लकडाउनले परीक्षाको चिन्ता र तनावले ग्रस्त बनाईरहेको छ। कोरोना भाइरसको सङ्क्रमणबाट हामी सबै नेपालीलाई बचाउन सरकारले गरेको लकडाउनलाई पालन गरेर आउने परीक्षाको तयारी गर्नुबाहेक हामीलाई अर्को बिकल्प पनि छैन। देशका अधिकांश विद्यालय भारतबाट आएका नेपाली दाजु भाइ दिदिबहिनीलाई राख्न क्वारेन्टाइनस्थल बनाएको छ। यस्तो अवस्थामा हाम्रो परीक्षा तुरुन्तै सन्चालन गर्न सम्भव छैन। यसले गर्दा म जस्ता विद्यार्थीलाई थप तनावग्रस्त बनाइरहेको छ। कोरोना भाइरसको संक्रमण धेरै भएको भारतबाट आएका नेपालीलाई विद्यालयमा क्वारेन्टाइन बनाएर राख्दा त्यहाँको ब्यवस्थापन राम्रो नभएकाले केही नेपालीको क्वारेन्टाइनमै मृत्युसमेत भयो। अनि क्वारेन्टाइनमै धेरै जनालाई कोरोना भाइरस सरेको भन्ने कुराहरु समाचारमा सुन्दा ज्यादै दुस्ख लागेको छ। हालै विदेशबाट उद्धार गरी ल्याइएका नेपाली गर्भवति महिलालाई २ दिनसम्म खाना, पानी नदिएको र उनीहरुलाई नराम्रो ब्यवहार गरेको कुरा भिडियो हेरेर थाहा पाउँदा ज्यादै दुस्ख लाग्यो। सबै नेपाली दाजुभाइ दिदिबहिनीलाई ब्यवस्थित क्वारेन्टाइनमा राखेर खान र आरामले सुत्न पाउने व्यवस्था गरी उनीहरुमा कोरोना भाइरस संक्रमण भए नभएको कुरा विशेषज्ञले भने जस्तै पीसीआर बिधिबाट परीक्षण गरेर संक्रमण नभएकालाई घर पठाउँन तथा संक्रमितहरुलाई आवश्यक उपचार गराउन सम्माननीय प्रधानमन्त्रीज्यूको पक्कै ध्यान पुग्नेछ। साथै भाइरसको संक्रमण तिब्र गतिमा बढिरहेको भए पनि लकडाउन केही खुकुलो बनाएको अवस्थामा बजार र बाटो घाटोमा मानिसको भिडभाड देखिन लागेको छ। एउटा घरका मानिसहरु अर्को घरमा जाने र नजिक नजिक भएर बसेर गफ गर्ने, नाक मुख छोप्न मास्क लगाउन अप्ठेरो मान्ने गरेको पनि देखिन लागिसक्यो। यसरी सरकारले लकडाउन खुकुलो बनाउँदै लगेर पूरै खुला गर्दा भोलि संक्रमण नियन्त्रण भन्दा बाहिर गयो भने इटाली, अमेरिका, भारत, ब्राजिल, रसिया जस्ता देशमा धेरै मानिसहरुको मृत्यु भए यहाँ पनि धेरैको मृत्यु हुन सक्ने कुराले डर लाग्न थालेको छ। यस्तो डरलाग्दो सम्भावनालाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूबाट उचित निर्णय गरेर नेपालीको जीवन र स्वास्थ्यको संरक्षक हुन बिनम्र अनुरोध गर्दछु। रोहन आचार्य कक्षा ११ शान्ति निकुन्ज माध्यमिक विद्यालय, पोखरा
प्रकाशित मिति: शुक्रबार, असार ५, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update