चीनको इशारामा आफूलाई भारतीय दलाल भन्ने सांसद चौधरीको भाषण मेटाउन र कानूनी कारबाही गर्न सांसद गिरिको माग
समाजवादी पाटी, नेपाल (राजपासँग एकीकरणपछिको जनता समाजवादी पार्टी नेपाल)की सांसद सरिता गिरिले जेठ १९ गतेको संसदमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गंगा सत्गौवा चौधरीले घृणाको मन्तव्य दिएको भन्दै उक्त भाषण संसदको रेकर्डबाट हटाउन माग गरेकी छिन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरिले आफूविरुद्ध संसदमा सांसद चौधरीले दिएको वक्तव्यलाई अंग्रेजीमा हेट स्पीच अर्थात घृणाको मन्तव्य दिँदै आफ्नो पदको मर्यादा नहुँदो हो त आफू भौतिक रुपमा पनि आक्रमण गर्न सक्ने भन्दै आफूलाई भारतीय चेलीले नेपालको संसदमा दादागिरी गरेको विषयलाई तत्काल संसदको रेकर्डबाट हटाउन माग गरिन्।
साथै उनले नेपालको कानूनी व्यवस्था अनुसार, सांसद चौधरीले व्यक्त गरेको घृणाको मन्तव्यबारे छानविन गरी गृह प्रशासनले उनीमाथि कारबाही गर्न पनि माग गरिन्।
https://youtu.be/TWCFDrHXQHk
चौधरीले उक्त दिन संसदमा सांसदलाई जासुसको आरोप लगाउनेदेखि संसदमा दादागिरी चलाएको अभिव्यक्ति दिएर उनले कुनै सांसदमाथि नभएर सिंगो संसद र संसदीय मर्यादामाथि आक्रमण गरेको आरोप लगाइन्।
केही समय अघि सरकारले जारी गरेको नेपालको नयाँ नक्साको विषयमा आफूले भारत र चीन दुबै देशसँग आपसी सम्वाद गरी समस्या समाधान गर्न भनेको विषयलाई मिडियाले तोडमोड गरी ‘भारतलाई नसोधीकनै नक्सा बनाउने?’ भनि प्रयोजित समाचार प्रकासित गरेको समाचारलाई आधार बनाएर सांसद चौधरीले आफ्नो धारणा व्यक्त गरेको आरोप लगाइन्।
सांसद चौधरीले आफूलाई भारतीय दलाल भन्दै भारतीय चेली भनेर महिलाप्रति सहानुभूति देखाएको व्यंग्य गर्दै आफुलाई भारतीय जासूस भनेको आपत्ति प्रकट गरिन्।
‘मलाई पनि थाहा छ, उनका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दै गर्दा भारतीय रुपैयाँ बाँडिएको थियो। पछि गाउँलेहरुले पक्रेपछि यो भारतीय रुपैयाँ भारतबाट नभई उत्तरको छिमेकी मुलुक चीनको तर्फबाट बाँडिएको हो,’ भन्ने प्रसंग उल्लेख गर्दै सांसद गिरिले चौधरीमाथि कतै उत्तरी चीनको आड र इशारामा आफूमाथि आरोप लगाएको त होइन भनि प्रश्न समेत गरिन्।
साथै उनले आफू भारतीय चेली भएपनि नेपालको संसदमा नेपालको कानून अनुसार आएको बताइन्।
सत्तारुढ दल नेकपा नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलका सदस्यहरुलाई के कसरी बोल्ने भनि प्रशिक्षित गर्न आग्रह गर्दै उनले भनिन्, ‘बुद्धका सन्तानले रगत उमाल्न हुँदैन। रगत त धेरैको उम्लिन्छ। जब मधेसीको भारतीय र भारतीयको मधेसी बनाइन्छ धेरै मानिसको रगत उम्लिन्छ। तर, पनि हामीलाई कसैले चाँदीको चम्मामा सांसद पद दिएको होइन। हामी पनि जनताको बिचमा संघर्ष गरेरैै यहाँ आइपुगेका हौँ,’ उनले आक्रोसित भनिन्।
आफूहरुलाई नेपालको राष्ट्रपति लगायतका पदमा निर्वाचन लड्न संविधानको २७९ को दफाले आफुहरुको हातखुट्टामा जंजिर बाँधिदिएको भन्दै त्यो जंजिर हटाएपछि मात्रै सबैै नेपाली मिलेर नेपाल अगाडि बढाउन सक्ने बताइन्।
साथै उनले सांसद चौधरीको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चलाउन सहयोग गर्न असमर्थ हुने चेतावनी दिइन्।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय