संसद् भवनमा सामाजिक दूरीसहितको रौनक

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने स्थल नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आउँदा राष्ट्रपतिको आगमनमा प्रयोग गरिँदै आएको बग्गी (रिसल्ला) को रौनक यस पटक देखिएन ।
कोभिड–१९ को जोखिमलाई न्यून गर्न सामाजिक दूरी कायम गरी कार्यक्रमलाई चुस्त तुल्याउने सन्दर्भमा यस पटक कार्यक्रममा आमन्त्रित व्यक्तिको सङ्ख्या पनि उल्लेखनीयरुपमा कटौती गरिएको थियो । सामाजिक दूरी कायम गर्ने सन्दर्भमा केही सांसदलाई सभाहलको बाल्कोनीअर्थात अघिपछि विशिष्ट पाहुना, पत्रकार, दर्शकका लागि प्रयोग हुँदै आएको स्थानमा व्यवस्थापन गरिएको थियो ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट दुवै सदन अर्थात (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकलाई सम्बोधन गर्ने परम्परा छ । बाल्कोनीमा उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति र नेपाल सरकारका सचिवका लागि बस्ने कुर्सीको व्यवस्था मिलाइएको थियो ।
नेपालको राष्ट्रिय झण्डा र ध्वजापतकाले कार्यक्रमस्थललाई सिङ्गारिएर झकिझकाउ तुल्याइएको थियो । मुख्य कार्यक्रम सञ्चालन हुँदा सञ्चालनमा ल्याइने फोहरा नजिक तस्वीर खिच्न त्यहा पुगेका फोटो पत्रकार व्यस्त देखिन्थे । उक्त भवनको ल्होत्से हलमा सञ्चारकर्मी र सुरक्षाकर्मीले राष्ट्रपतिको सम्बोधन सुन्न र हेर्न सकिने व्यवस्था मिलाइएको थियो ।
कोभिड– १९ कै कारण यस पटक नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिलाई कार्यक्रममा बोलाइएन । राष्ट्रपतिबाट सम्वोधन भइरहदाँ कतिपय सांसदले टेबुलबाट समर्थन जनाउनुभएको देखिन्थ्यो । अघिल्ला वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिनको तुलनामा निकै थोरै व्यक्ति संसद् भवनमा पुगेका थिए ।
सभाहल प्रवेशका लागि पिसिआर परीक्षण नतिजालाई अनिवार्य गरिएको थियो । सदनमा प्रवेश गर्नुअघि साबुनपानीले मिचिमिची हातधुने, स्यानेटाइजरको प्रयोग गर्ने र तापक्रम लिने कार्यमा सांसद पङ्क्तिबद्ध देखिन्थे । सङ्घीय संसद्को बर्खे अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।
नेपाल टेलिभिजनलगायतका टेलिभिजन च्यानल र अन्य विद्युतीय सञ्चारमाध्यमले राष्ट्रपतिको सम्बोधनको प्रत्यक्ष प्रसारण गरेका थिए । कोभिड– १९ को प्रभाव विश्वव्यापी भइरहेको बेलामा संवैधानिक बाध्यताकाकारण संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत भएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय