मजदुरलाई राहतको प्याकेज घोषणा गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह
                        
                        
                                                
                                             
                                                
                        मे दिवसकै अवसरमा शुभकामना दिँदै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारसँग श्रमिक तथा मजदुर वर्गका लागि राहतका विशेष कार्यक्रम ल्याउन अनुरोध गरेका छन् । उनले कोरोना भाइरसको महामारीका कारणले देश–विदेशमा रहेका श्रमिक तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था आएकाले राहतका कार्यक्रम ल्याउन अनुरोध गरेका छन् ।
“विभिन्न आरोह–अवरोह पार गर्दै आफ्ना अधिकार स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्ग अहिले कोरोनाको महामारीका कारण सबैभन्दा बढी समस्यामा परेका छन”, सन्देशमा भनिएको छ, “उनीहरुले आफ्नो दैनिक जीविकोपार्जनमा कठिनाइ भोग्नुपरेको छ । यस अवस्थामा राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतिका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुर वर्गको स्वरोजगार, जीविकोपार्जन, रोजगारी तथा राहतका विशेष कार्यक्रम ल्याउन सरकारसमक्ष अनुरोध गर्दछु ।”
कोरोना भाइरसबाट सङ्क्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कोरोनाको सङ्क्रमणलाई विश्वले छिट्टै पराजित गर्दै जनजीवन सामान्य अवस्थामा फर्कने विश्वास व्यक्त गरेका छन् ।
आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन गर्न पाउनेलगायत पेशागत हितको प्रवद्र्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको सङ्घर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको थियो । सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    