हिमाल दैनिक
नेपाली कांग्रेसका नेता एवं प्रखर राजनीतिक विश्लेषक प्रदिप गिरिले औषधी नभएको कुनै पनि रोग नभएको बताउँदै हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध सम्पूर्ण समाज एक भएर लडेमा यसबाट मानवजातीको रक्षा गर्न सम्भव भएको बताएका छन्। प्रतिनिधि सभामा कोरोना भाइरसको विषयमा कांग्रेस सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा शुक्रबार बोल्दै सांसद गिरिले अहिले देखिएको संकटलाई देशले अवसरका रुपमा लिएर त्यसविरुद्ध विजय प्राप्त गर्नु पर्नेमा जोड दिए। https://youtu.be/x2r-4ks-HDQ प्रस्तुत छ सांसद प्रदिप गिरिले व्यक्त गरेको विचारको अंशः सभामुख महोदय, उहिल्यै हाइस्कूल पढ्दा पाठ्यक्रममा पढेको एउटा कविता थियो। बालकृष्ण समका पंक्ति हुन् यीः यस्तो पाप पनि छैन, प्रायश्चित विना कुनै, यस्तो रोग पनि छैन, जसको छैन औषध। यो उनले ‘मुकुन्द इन्दिरा’ भन्ने नाटकमा इन्दिराको मुखबाट भनाएका छन्। यो पाप भन्ने शब्दको आफ्नै धारणा होला तर, यस्तो रोग पनि छैन जसको छैन औषध भन्ने सम्झिएर म यहाँ बोल्न उभिएको छु। आतंक भएको छ, आज कोरोनाका बारेमा। सर्वप्रथम प्रस्तावकले भन्नु भएजस्तै यस आतंकबाट मुलुकलाई मुक्ति दिलाउनु हाम्रो कर्तव्य हो। यसैले म यस सम्मानित सदनका माध्यमबाट पहिले सबै नेपालीलाई यो अनुरोध गर्न चाहन्छु, सर्वप्रथम यो महामारीको आतंक हृदयबाट निकालिदिनुहोस् र सरकारले पनि त्यस दिशामा काम गरोस्। मानवजातीले पहिलो पटक यो महामारी भोगेको होइन। विगत पाँच÷सात वर्षमा मात्रै हामीले इबोला, बर्डफ्लु, स्वाइनफ्लु भन्ने यस्ता आतंकहरुको कुरा थाहा पाएका छौँ। तर, मानवजातीको हजारौँ वर्षको इतिहास हेर्नुभयो भने, आज मानव सभ्यतालाई संरक्षण दिन अत्यावश्यक रहेको जंगल मनुष्यको सबैभन्दा ठूलो सत्रु थियो। त्यतिबेला पनि एकसे एक रोग भएका इतिहास थिए। एउटा प्लेगको महामारीले सिंगो युरोपको इतिहासलाई बदलिदिएको परिघटना छ १२औं शताब्दिमा। तर, सबैभन्दा ठूलो कुरा सयकडौं र हजारौँ वर्षसम्म मानिसले जंगलसँग लड्नु पथ्र्यो। जंगल बढ्ता भयो, चिस्यान भयो, मलेरिया भयो, मानिस सखाप हुन्थे। तर, आज जंगल नै बढ्ता काटिएकोले पो यस्ता भाइरसहरु आइरहेका हुन कि? वातावरणीय असन्तुलनले पो हो कि वर्षौ जस्तो नामै नसुनिएको नयाँ नयाँ भाइरस आएका हुन कि? यो सोच्नु पर्ने कुरा छ। यो प्रस्तावले सबैलाई एकजुट भई यस कोरोना भाइरसका विरुद्ध लडौँ भनेर अनुरोध गरेको छ, आब्हान गरेको छ। त्यसको म समर्थन गर्छु। सरकारले यस दिशामा लिएका कदमहरुको पनि सराहना गर्दछु तर, कोरोना भाइरसका विरुद्ध राष्ट्रिय सहमति बनाई एकजुट बनौँ भनेको के हो त? अहिले दबाई ल्याएर, सोध गराएर, मुखमा माक्स लगाएर, बढिभन्दा बढि माक्स बाँढेर लडाई हुन्छ त? यसअघिका महामारीलाई हामीले जितेका छौँ, पराजित गरेका छौँ। यसपल्ट पनि पराजित गर्छौँ भन्ने आत्मविश्वास राखौँ। हामी गर्छौँ र सम्झाउँ सबैलाई, हामी लड्छौँ यसरी लड्छौँ। तर, मुख्यकुरा बारम्बार नयाँ नयाँ नाम नसुनिएका भाइरस कसरी आउँछन् त? यसकाबारेमा अहिले केही भन्न सकिएको छैन। चीनबाट आयो, काँचा चमेरो खाएर आयो भन्ने खालका भन्ने कुरा मैले फेसबुक र युट्युवमा देखेको छु। यसलाई राजनीतिक हथकण्डाको विषय नबनाउँ। चीनले आफ्ना हिसाबले यसलाई बचाउँने प्रयास गर्दैछ। र यहाँ पनि सरकारका निमित्त, प्रतिपक्षका निमित्त स्वर्ण अवसर आएको छ। प्रत्येक संकट आफैमा एउटा अवसर हुन्छ। प्रश्न कोरोना भाइरसको मात्र छैन। झन ठूलो महामारी गरिवी छ, भोकमरी छ, बेरोजगारी छ, हिंसा छ। त्यसका विरुद्धमा सदनभित्रको सत्तापक्ष र प्रतिपक्ष मात्र होइन सदन बाहिर रहेका करोडौँ नेपाली, जो अहिले मुकदर्शक भएर सामान्य अवस्थामा बस्छन् र आन्दोलनका बेलामा सडकमा उत्रिन्छन् तिनलाई पनि समावेश गराएर हामी यो कोरोना भाइरस भनेको तात्कालिक समस्या होइन, दीर्घकालीन समस्या हो। जबसम्म पर्यावरणका बारेमा एकजुट हुँदैनौँ, रोगका विरुद्ध एकजुट हुँदैनौँ, व्यक्तिगत दम्भ र महत्वाकांक्षाका विरुद्ध सामूहिक निर्णय गर्ने बानी बसाउँदैनौँ, कोरोना भाइरस बारबार आउँछ। र झन खतरनाक रुपमा आउँछ भनेर हामीले बुझ्नु परेको छ र बुझाउनु परेको छ। त्यसैले म एकातिर कोरोना भाइरसको प्रश्नलाई मानवजातीको इतिहाससँग जोडेर समस्त यसबाट पीडित रहेका विश्वका नागरिकलाई विश्वास दिलाउन चाहन्छु, यसको पराजय निश्चित छ। यस्तो रोेग पनि छैन, जसको छैन औषध, अर्कोतिर हामी सबैले दल, पार्टी, वर्ग, जाती (वर्ग संघर्ष आफ्नो ठाउँमा छ) त्यसको औचित्य म मान्दछु। तर, यहि मौका हो जहाँ वर्गसंघर्ष भन्दा माथि उठेर पर्यावरणका लागि र कोरोना भाइरसका विरुद्धमा एक भएर लड्नु परेको छ। हामी सबै साथी जो संसदमा छौँ, संसदका बाहिर छौँ, त्यसलाई यस संकटले एउटा सोच्ने मौका दिएको छ। धन्यवाद।
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update