दुई बर्षको कार्यकालमा राष्ट्रियसभा सदस्यको तीतो-मिठो अनुभव
                        
                        
                                                
                                             
                                                
                        राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरेका १८ सदस्यले आफ्नो कार्यकालको अनुभवसहित सभालाई सम्वोधन गरेका छन् । प्रबुद्ध समूहको सभाका रुपमा रहेको राष्ट्रियसभालाई अझै गरिमामय र मर्यादित तुल्याउन आफूहरु बाहिर रहेर पनि सहयोग पु¥याउने उनिहरुले प्रतिबद्धता व्यक्त गरे । सम्बोधन गर्ने क्रममा उनिहरुले दुई वर्ष कार्यकाललाई ‘कवि खुशी कवि गम’ सिनेमा जस्तो, ठूलो विश्व विद्यालयबाट परिपक्क शिक्षक भएको, संविधानको प्रस्तावनाको स्मरण गरेर काम गरेको तथा सानो परिवार सुखी परिवारको रुपमा जिम्मेवारी बोधगरी अघि बढेको अनुभव सुनाए ।
केही सदस्यहरुले भने कार्यकाल सकिन लाग्दा पारिवारिक विछोडजस्तो लागे पनि परिपक्व र उदाहरणीय सभाको रुपमा नयाँ सदस्यलाई हस्तान्तरण गर्न पाउँदा निकै जिम्मेवार बनाएको र खुशी लागेको बताए । ५९ सदस्यीय राष्ट्रियसभाको १९ सदस्यको आजैबाट दुई वर्षे कार्यकाल समाप्त हुँदैछ । कार्यकाल पूरा हुनेमा सांसदहरु कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, विन्दादेवी आले, मुक्ताकुमारी यादव, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, रमेश यादव, राजकुमार कँुवर, वृषेशचन्द्र लाल, रामप्रीत पासवान, प्रमिला कुमारी र हरिचरण सिवाकोटी छन् । अर्थमन्त्री डा युवराज खतिवडाको पनि आजै दुई वर्षे कार्यकाल पूरा भएको छ ।
यो अवधिमा आफूहरुले सिंहदरबार, सरकार, दुवै सदन बुझ्ने ठूलो मौका पाएको घटना सुनाउँदै उहाँहरुले आफ्ना दुई वर्षे कार्यकालको अनुभव जनतासामु लैजाने प्रतिबद्धता जनाएका थिए । मुलुकमा परिवर्तनकारी आन्दोलनमा रहेका राजनीति दलको सामूहिक प्रयासको मीठो फलका रुपमा रहेको सङ्घीय संसद्मा संविधानले प्रदान गरेको कानून निर्माणको जिम्मेवारीमा खरोरुपमा उत्रन सुझाव दिँदै उनिहरुले झैझगडा गरेर सदनलाई अलमलमा राख्ने खेलमा नलाग्न सरकार र प्रतिपक्ष दललाई आग्रह समेत गरे ।
दुई वर्षको अवधिमा सहमति र सहकार्यको संस्कार र संस्कृतिको विकास गरिएको बताउँदै सांसदले प्रतिनिधिसभा र राष्ट्रियसभाको मर्यादा समान होस् भन्नका लागि बजेट विनियोजनमा विभेद नगर्न सरकार र अर्थमन्त्रीलाई सुझाव दिए ।
केही सांसदले आफ्नो दुई वर्षे कार्यकाल राजनीतिको अन्तिम यात्रा नभएकाले फरक जिम्मेवारी र भूमिकामा जनता र देशको सेवामा रहिरहने प्रतिबद्धता व्यक्त गर्दै सभालाई परिपक्क तुल्याउन र केही हदसम्म प्रविधिमैत्री बनाउन सफल भएको दाबी गरे । राष्ट्रिय मुद्दा र विधेयक पारितमा सहमति कायम गरेर सभाले उदाहरण प्रस्तुत गरेको जानकारी दिँदै उनिहरुले प्रबुद्ध वर्गको सभाको रुपमा स्थापित गर्न सबैबाट प्रयास र प्रयत्न भएको भनी खुशी व्यक्त गरे ।
कार्यकाल पूरा हुने सदस्यमध्ये दुर्गाप्रसाद उपाध्यायकको केही समय अघि निधन भइसकेको छ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे र सचेतक सरिता प्रसाईको पनि कार्यकाल आजैबाट कार्यकाल पूरा हुँदैछ । केहीले सदनलाई वर्ग सङ्घर्ष समाधान गर्ने थलोको रुपमा बुझेको अनुभूति सुनाएका थिए भने केहीले राष्ट्रियसभालाई ज्ञानी र विज्ञको सभाका रुपमा पाएको स्मरण गरेका थिए ।
‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न राष्ट्रियसभाको अनुभव सरकार र प्रतिनिधिसभाले मनन गर्न लायक रहेको उनिहरुको भनाइ थियो । संवैधानिक व्यवस्था भए पनि राष्ट्रियसभामा सत्ता पक्ष र विपक्षको मानसिकता हुनुहुँदैन भन्नेमा अधिकांश सदस्यले भूमिका खेल्नु भएको भनी सराहना गरिएको थियो । यो अवधिमा ४१ वटा विधेयक र विशेषसहित ७ वटा प्रस्ताव पारित भएका थिए । सभाको गरिमा र औचित्य पुष्टि गर्न पु-याएको योगदानको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रशंसा गरे ।
                        
                    
                प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    