दिनहुँ जस्तो सांसदहरुको 'बंक'ले सदनमा विधयेक अन्योल
                        
                        
                                                
                                             
                                                
                        हालै चलिराखेको संसदको विधयेक अधिवेशनमा केहि समय यता कोरम नपुग्दा सदन स्थगित हुदै आइराखेको छ। सांसदहरुको न्यून उपस्थितिले सदनमा बिधेयकहरु पारित हुन सकेको छैनन्।
प्रतिनिधिसभाको बैठकमा आइतबारझैँ आज पनि गणपूरक सङ्ख्या नपुगेपछि बैठक नै स्थगित भएको छ । सोमबार कारागार बिधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसकी सांसद पर्वता डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेकी थिइन् ।
नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रश्न वा प्रस्ताव दर्ता निर्णयार्थ पेश गर्न प्रतिनिधिसभाको एक चौथाइ सदस्य उपस्थित भएको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा ६५ मात्रै उपस्थित भएपछि कारागार विधयेक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेन।
यसअघि आइतबार पनि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न लाग्दा नेपाली काँग्रेसका सांसद प्रकाश रसाइलीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । गणपूरक सङ्ख्या एकिन गर्दा ६९ सांसद उपस्थित हुनुपर्नेमा ५४ मात्रै उपस्थित भएपछि ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुन सकेको थिएन।
दिनहुँ जस्तो गणपूरक सङ्ख्या नभएपछि सभामुख सापकोटाले कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाउदै सदन स्थगित गर्दै आएका छन्। प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
                        
                    
                प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    