मार्सी फलाउने मन्त्रालय अलग्गै छ, हामीले सिंचाई पुर्याउने मात्रै होः मन्त्री पुन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेपछिको एकवर्षमै काठमाडौं उपत्यकाको सडक धूलो र धुवाँ मुक्त भएको अभिव्यक्तिप्रति प्रतिप्रश्न गर्दै आफ्नो स्कूटरमा पछाडि बसेर राजधानीको सडकमा घुम्न र वास्तविकता बुझ्न चुनौति दिएर नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले एकाएक चर्चामा आएकी थिइन्।
उनै सांसद शाहीले मंगलबारको प्रतिनिधि सभा बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनसँगको प्रश्नोत्तर गर्ने क्रममा उनको नेतृत्वमा रहेको मन्त्रालयबाट हुम्लाका लागि निकासा भएको सिंचाईको बजेट मन्त्रीकै पार्टीका कार्यकर्ताको खल्तीमा गएको आरोप लगाइन्।
कर्णालीको दुर्गम जिल्ला हिमाली हुम्ला जुन करिब दुई वर्षअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई झापाका बि एण्ड सी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले आफ्नो घरमा मार्सी चामलको भात खुवाएर विशेष चर्चामा आएको थियो सोही विषय उठाएर सांसद शाहीले मन्त्री पुनलाई व्यंग्य वाण प्रहार गरिन।
हुम्लामा सिंचाई नपुग्दा त्यहाँका जनताले मार्सी फलाउन नसकेको र अहिले त्यहाँका जनता नेपाल खाद्य संस्थानको ढोकामा पाँच किलो चामलका लागि लाइनमा बसिरहेको बताउँदै उनले सोधिन्, ‘मार्सी फलाउनाका लागि के छ योजना जान्न चाहन्छु?’
जवाफमा मन्त्री पुनले प्राथमिकताको आधारमा सिंचाई संरचना बनाउने काम भइरहेको बताए। उनले हुम्लामा सिंचाई नपुगेको भन्ने प्रश्नको जवाफमा गतवर्ष पहाडमा एक हजार हेक्टरसम्मको योजना मात्रै संघले हेर्ने गरेपनि यसवर्षबाट एक सय हेक्टरसम्मको योजना पनि हेर्न सक्नेगरी सरकार र राष्ट्रिय योजना आयोगले कार्यविधि निर्माण गरेको जानकारी दिए।
यसै अनुसार हुम्लामा पनि एक दुई वटा योजनाको प्रस्ताव आएको जानकारी दिँदै मन्त्री पुनले मार्सी फलाउने योजनाको जवाफमा भने, ‘मार्सी फलाउने मन्त्रालय अलग्गै छ हामीले सिंचाई पुर्याउने मात्रै हो।’
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

