प्रतिनिधिसभा बैठकः असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?
                        
                        
                                                
                                            
                        अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको भन्दै सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अत्यन्त न्यून ज्यालामा काम गर्न बाध्य भएको भन्दै कानूनले तोेकेको सेवा सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बीनाकुमारी श्रेष्ठ असङ्गठित क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सरकारको ध्यानाकर्षण गराईन । उनले घरेलु श्रमलाई स्थानीय सरकारअन्तर्गत दर्ता गरी त्यसलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराईन।
“औपचारिकभन्दा अनौपचारिक श्रम बजार वृद्धि भइरहेका छन्”, उनले भनिन्, “श्रम ऐन र सामाजिक सुरक्षा ऐन जारी भएको दुई वर्ष बिते पनि ऐनले तोकेको सेवा सुविधा अझै पाउन सकेका छैनन्, असङ्गठित क्षेत्रका श्रमिकले सामाजिक सुरक्षा कहिलेसम्म पाउने हो ? निश्चित गर्न तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”
https://www.facebook.com/himaldainik/videos/215996499442844/
सरकारले पहिलो चरणमा औपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सामाजिक सुरक्षा कार्यक्रम शुरु गरेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो सङ्ख्याका श्रमिक अहिले पनि श्रम ऐन र सामाजिक सुरक्षा ऐनले प्रत्याभूत गरेको सुविधा प्राप्त गर्नबाट वञ्चित हुँदै आएका छन् ।
नेकपाकै सांसद शान्तिमाया तामाङ पाख्रिनले वैदेशिक रोजगारीका क्रममा देखिएको विकृति रोक्न तत्कालै पहल थाल्न सरकारलाई आग्रह गरिन् । सुन्दर भविष्य निर्माण गर्ने रङ्गिन सपना बोकेर खाडीमा पसिना बगाएका युवायुवतीले तीन/चार वर्षपछि स्वदेश फर्कदाँ साथमा श्रीमान्/श्रीमती वा सम्पत्ति कुनै पनि नहुने अवस्था आएको भन्दै त्यस्ता गतिविधिमा संलग्नलाई कडाभन्दा कडा कारवाही गर्न माग गरिन् ।
“वैदेशिक रोजगारीमा विकृति झाङ्गिँदै गएको छ”, उनले भनिन्, “श्रीमान्/श्रीमती विदेशमा हुँदा घर परिवार सम्हाल्न नसक्ने महिला/पुरुष र अर्काको घर परिवार बिगार्ने पुरुष र महिला दुवैलाई कारवाही गर्न कडाभन्दा कडा कानूनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।”
नेकपा सांसद विद्या भट्टराईले कोरोना भाइरसको सङ्क्रमण नभित्रियोस् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण उपकरणको प्रभावकारी प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराईन । नेपाल भ्रमण वर्षलाई सफल बनाउन नेपाल कोरोना भाइरसमुक्त मुलुकका रुपमा रहेको सन्देश विश्वभर फैलाउन आवश्यक रहेको उनको भनाइ थियो ।
                        
                    
                प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                    