हिमाल दैनिक
चाैतर्फी विराेधपछि एक कदम पछि हट्याे सत्तापक्षः मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको व्यवस्था हट्याे
bidhan samiti
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले नेपाल मिडिया काउन्सिल विधेयकबाट दण्ड सजायको व्यवस्था हटाएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले विधेयकमा प्रस्ताव गरिएका दण्ड सजाय र जरिवानासम्बन्धी व्यवस्था हटाएको हो । सञ्‍चारतथा सूचना प्रविधि मन्त्रालयले संसदमा ल्याएको विधेयकमा मिडिया काउन्सिलले जारी गरेको आचार संहिता उल्लंघन गरेमा पत्रकार, सम्पादक र प्रकाशकलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान प्रस्ताव गरिएको थियो । कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्‍चार माध्यम प्रकाशक, सम्पादक, पत्रकार वा संवादातालाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान हटाइएको समितिले जनाएको छ । विधेयकबाट उजुरी दिने, छानबिन गर्ने र त्यसपछि कारबाही गर्ने भन्ने व्यवस्था हटाइएको छ । विधेयकको प्रस्तावनादेखि अन्तिमसम्म नै संशोधन गरिएको छ। प्रस्तावनामा नै मिडिया काउन्सिललाई स्वायत्त र सक्षम निकाय बनाउने भन्ने शब्द थपिएको छ । त्यस्तै मिडिया काउन्सिललाई नियमनकारी निकाय बनाउने विषय पनि प्रस्तावनामा थपिएको छ । मिडिया काउन्सिलमा ९ जना पदाधिकारी हुने व्यवस्था सरकारले ल्याएको विधेयकमा थियो। संसदीय समितिले त्यो संख्या बढाएर मिडिया काउन्सिलमा ११ जना पदाधिकारी हुने व्यवस्था राखेको छ । त्यस्तै, मिडिया काउन्सिलमा नियुक्ति गर्ने क्रममा संविधानमा व्यवस्था गरिएको समावेशीतालाई मध्यनजर गर्दै पत्रकारिताको विधागत समावेशितालाई पनि ख्यालमा राख्नुपर्ने व्यवस्था गरिएको छ । मिडिया काउन्सिलको अध्यक्ष १० वर्ष र सदस्य हुन १५ वर्षको अनुभव हुनुपर्ने मन्त्रालयको प्रस्तावलाई समितिले संशोधन गरेको छ । अब मिडिया काउन्सिलको अध्यक्ष हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको व्यक्ति वा वरिष्ठ अधिवक्ता वा पत्रकारितामा स्नातकोत्तर गरेर निरन्तर १५ वर्ष पत्रकारितामा संलग्‍न रहेको हुनुपर्नेछ । त्यस्तै, मिडिया काउन्सिललाई कुनै संचार माध्यमको समाचार मन नपरेमा निर्देशन दिने भन्ने व्यवस्था पनि संशोधन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६