हिमाल दैनिक
आसन्न उपनिर्वाचनको प्रसार प्रसारको अन्तिम दिन बुधबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा पुगेर नेपाली कांग्रेसका प्रत्यासी खेमराज पौडेलप्रति गरेको टिप्पणीले सामाजिक सञ्जालमा नयाँ तरङ्ग ल्याएको छ। नेकपा उम्मेदवार विद्या भट्टराइको पक्षमा मत माग्ने सिलसिलामा पोखराको नयाँ बजारमा आयोजित चुनावी सभामा दाहालले आफ्नो पार्टीको उम्मेदवार बौद्धिक व्यक्तित्वमात्र होइन संघर्षबाट खारिएको भन्दै कांग्रेस उम्मेदवार पौडेललाई बृद्ध अवस्थामा चुनाव नलडेर देवघाट जान सुझाव दिए। दाहालले भने, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ विदा लिनु पर्छ भन्नेहरुले विचरा ७७ वर्षको बुढालाई, जो अब देवघाटतिर जानपर्ने मान्छेलाई, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नु पर्ने मान्छेलाई अघि सार्ने अनि ६५ वर्षको जवानलाई रेष्ट गर्नु पर्छ भन्ने मिल्छ त?’ आफ्नो विरुद्ध दाहालले दिएको यस्तो अभिव्यक्तिप्रति कांग्रेस उम्मेदवार खेमराज पौडेलले भने आफ्नो राजनीतिक संस्कार र शालिनता भुलेनन्। उनले भने, ‘उहाँ जस्तो ठूलो कद भएको मान्छेले त्यतिसारो तल्लो स्तरमा ओर्लिएर बोल्नु हुन्थ्यो कि हुँदैनथ्यो, त्यो उहाँले सोच्ने कुरा हो। तर, मानिसको शक्ति र सामथ्र्य भयो भने उमेरले केहि पनि गर्न सक्दैन।’ तर, दाहालले दिएको अभिव्यक्ति उनी आफैँ समेत संलग्न भएर बनाएको नेपालको संविधानको धारा १८ को समानताको हकको विपरित छ। जसमा भनिएको छ, सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्। सामान्य कानूनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण जात, जाति, लिंग, शारीरिक अवस्था, अपांगता, स्वास्थ्य अवस्था लगायतका कुनै आधारमा भेदभाव गरिने छैन। यस आधारमा दाहालको अभिव्यक्तिले यो धाराको उलंघन गरेको छ। हुनत, दाहालले नेपाली राजनीतिको खुला आकाशमा आएपछि दिएको विवादस्पद अभिव्यक्ति यो नै पहिलो होइन। उनले बालुवाटारमा प्रवेश गरेर मिडियामार्फत सार्वजनिक हुने क्रममै नेपाली सेनाप्रति दिएको अभिव्यक्तिबारे अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाउँदै माफी माग्न लगाएका थिए। त्यसयता पनि उनले बेला बखतमा यस्ता उरन्ठेउला अभिव्यक्ति दिँदै आएका छन्। आफ्नो पार्टीको उम्मेदवार भट्टराईको पक्षमा जनमत बटुल्ने नाममा दाहालले आज जसरी पौडेलको उमेरलाई लिएर टिप्पणी गरे त्यसले उनको बौद्धिक स्तरमाथि मात्र होइन, उनको व्यवहारिक मनोदशालाई पनि छताछुल्ल पारिदिएको छ। पहिलो, त दाहालको यो अभिव्यक्तिले उनी जेष्ठ नागरिकप्रति कति उदार/अनुदार छन् भन्ने देखाएको छ। अर्कोतर्फ करिब करिब दाहालको उमेर जतिकै समय राजनीतिक संघर्षको यात्रामा जीवन विताएका पौडेलको विषयमा आलोचना गर्ने कुनै विषयवस्तु नपाएपछि दाहालले उनलाई देवघाटको बाटो देखाए। जुन, दाहालले बोकेको सिद्धान्त र दर्शन अनुसार सम्झने स्थान देवघाट होइन। कास्कीका उम्मेदवारहरुको विषयलाई लिएर पछिल्लो समय पोखराका कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विशेषत तीन उम्मेदवारहरुः नेकपाकी विद्या भट्टराई, कांग्रेसका खेमराज पौडेल र साझा पार्टीकी रजनी केसीको विषयमा विम्वको प्रयोग गरी ट्रोल नै बनाएका छन्। त्यो होः वाइडबडी, वोल्डबडी र स्लीमबडीबीचको प्रतिस्पर्धा। पौडेलको उमेर ७४ वर्ष भएको सुनेकै भरमा दाहालले जुन प्रतिक्रिया दिए त्यो उनको बुझार्ईमा ‘अल्पबुद्धि भयंकर’को प्रभाव हो। किन भने, पौडेल यो उमेरमा पनि यति तगडा छन् उनलाई हिँडडुल गर्न र बोल्न विरलै युवाले सक्छन्। हुनत् जस्ताले छाएको कच्चीघरमा दुई छाक पनि राम्रोसँग खान नसक्ने आर्थिक अवस्थाका पौडेलले पनि दाहालले जसरी दुर्गा प्रसाईको मार्सी चामलको माना, अजय सुमार्गीको दाना र शारदाप्रसाद अधिकारीको आलिसान छानामुनी बस्न पाएको भए अहिले चाउरी परेको अनुहार लिएर जनतामाझ पनि जानु पर्दैनथ्यो होला। दाहालले पनि त्यो अनुहार देखेर देवघाटको बाटो देखाउँदैनथे होला। तर, के गर्नु? भोगविलास भन्दा त्याग र निष्ठाको राजनीतिमा जीवन विताएका विचरा ‘वोल्डबडी पौडेल’ त्यो पनि दाहालका निम्ति कसरी स्वीकार्य हुन सक्दथे। उनका लागि त मार्सी चामल र वाइडबडी नै प्रिय होला। त्यसैको तागतले त होला कुनै समय एक चलचित्रकर्मीसँग खुला सडकमा कम्मर मर्काउँदै र हात हल्लाउँदै नाचेका थिए दाहालले। तर, मानिसको जीवन र भविश्य अस्थिर छ। त्यसको उदाहरण खोज्न अन्त कतै जानु पर्दैन्। दाहाल स्वयंले आफ्नो विगत २५ वर्षयताको राजनीतिक जीवन, त्यसका नाममा चलाएको हिंसा, उनका निम्ति जिउज्यान अर्पिएका जीवित र मृत नेता, कार्यकर्ता र इतिहासको पानामा पनि नभेटिने गरी विलाएको उनकै पाटीको विषयमा गहन अध्ययन गरे हुन्छ। उमेर, बल, धन, दौलत सबै क्षणिक हो। आज छ, भोलि हराएर वा नासिएर जान्छ। जीवन पर्यन्त रहने भनेको उसको नाम, काम र योगदान हो। जुन विश्व राजनीतिका कतिपय राजनेताको विषयमा मात्र होइन, कास्कीका प्रजातन्त्रप्रेमी सन्तपुरुष खेमराज गुरुले निर्वाह गरेको योगदान त्यहाँका जनताले चुनावी परिणाममा जे भएपनि धेरै पछिसम्म सम्झिने आधारहरु छन्। यसैले दाहाल जस्ता जो आफूलाई राजनेता भन्न र आत्मगाथा गाउँन रमाउने व्यक्तिले बुझ्न जरुरी छ। उनले आज दिएको अभिव्यक्तिले स्वयं उनको समर्थन भएकी विद्याका निम्ति पनि हितकर हुने छैन। त्यसैले तत्काल पौडलका विषयमा संविधान विपरित दिएको अभिव्यक्ति दाहालले फिर्ता लिएर पौडलसँगै आम कस्केली जनतासमक्ष क्षमायाचना गर्नु पर्छ। अन्यथा उनले म पनि कास्कीमै जन्मिएको भनि भाषण गरेर कस्केली जनताको मन जित्न सक्ने छैनन्। यस सम्बन्धि थप समाचारहरु:  
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update