कोरोना संक्रमित सांसदहरुलाई पनि मतदान गर्ने व्यवस्था

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको परामर्श समिति बैठकले उच्च स्वास्थ्य सतर्कताका साथ कोरोना संक्रमित सांसदहरुलाई मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको एमाले मुख्य सचेतक बिशाल भट्टराईले जानकारी दिए । उनले एमालेबाट सांसद बनेका सवै सांसदहरु विश्वासको मतको पक्षमा उभिने दावी गरे । त्यस्तै उनले विश्वासको मत दिन अन्य दललाई आग्रह गरिनु स्वभाविक भएको धारणा राखे ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकलाई सुरक्षित र व्यवस्थीत रुपमा सञ्चालन गर्ने बिषयमा छलफल भएको बताए । खाँणले सोमबार नै विश्वासको मतका बिषयमा छलफल हुने र मतदान हुने जानकारी दिए ।
त्यस्तै माओवादी मुख्य सचेतक देव गुरुङले मतदानमा सवैलाई सहभागी गराउने र संक्रमित सांसदहरुलाई पनि संसद भवन ल्याउने व्यवस्था गरिने उल्लेख गरे।
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा केहि सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय