हिमाल दैनिक
डिभी लोटरी २०२३ भर्न सुरु, कसरी भर्ने?
Green-Card-1
डिभी २०२३ को आवेदन खुलिसकेको छ । नेपाली समय अनुशार बुधबार राति पौने १० बजेदेखि डिभी लोटरी भर्ने अवधि सुरु भएको हो ।  नोभेम्बर ९ मंगलबार मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन्। यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन्। तर मकाउ र ताइवानका भने योग्य हुनेछन्। विगत ५ बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेका देशका नागरिक डिभी भर्न योग्य हुँदैनन् । डिभीका लागि योग्य नभएका देशका नागरिकको दम्पत्ति योग्य देशको भएको खण्डमा त्यस्ता व्यक्ति डिभीका लागि योग्य हुनसक्नेछन् । त्यस्तै बुबाआमामध्ये एक कुनै योग्य देशमा जन्मिएको भएमा पनि छोराछोरीहरुले उक्त देशको आधारमा डिभी भर्न सक्नेछन् ।

सबैभन्दा बढी ध्यानदिनु पर्ने ५ कुराहरु

१, डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ ।यदि तपाईहरुसँग यी योग्यताहरु छैनन् भने डिभी नभर्नुहोला । कतिपयले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा प्रहरी खोरमा पुग्नुका साथै अमेरिका प्रवेशमा सधैका लागि प्रतिबन्ध समेत भोग्नु परेको छ । २, डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । कतिपयले पहिले नै डिभी भर्दा प्रयोग भएको फोटो पटकपटक प्रयोग गर्दै आएका हुन्छन् । त्यस्तै कतिपयले अमेरिकाको भिसामा पहिले प्रयोग भएको फोटो समेत डिभी भर्दा प्रयोग गर्छन् । यस्तो गल्ती नगर्नुहोला । नयाँ फोटो खिचेर डिभी भर्नुहोला । पूरानै फोटो प्रयोग गर्दा डिभीका लागि अयोग्य हुने सम्भावना रहन्छ । ३, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ । एकल उल्लेख गरेर भर्दा पर्ने सम्भावना बढी हुन्छ भन्ने भ्रममा परेर समेत कतिपयले एकल उल्लेख गर्छन्, जुन गलत हो ।  डिभी भर्दा एकल भरेका विवाहितले डिभी परेपछि समस्या भोग्दै आएका कैयन उदाहरणहरु छन् । त्यस्तै डिभी भर्दा छोराछोरीको विवरण उल्लेख नगरेकाहरुले पनि डिभी परेपछि भिसा लिने बेलामा समस्या भोग्दै आएका छन् । कतिपयको भिसा समेत अस्वीकृत हुने गरेको छ । त्यसैले डिभी भर्दा दम्पत्ति र छोराछोरीको सम्पूर्ण विवरण उल्लेख गर्न सुझाव दिइएको छ । ४, डिभी भर्दा सरकारको आधिकारिक वेवसाइटबाटमात्र भर्नुपर्छ । अक्टोबर ६ पछि सरकारको आधिकारिक वेवसाइटमा डिभी भर्ने लिंक उपलब्ध हुनेछ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।  कुनै तेश्रो संस्था वा व्यक्ति वा वेवसाइटमार्फत डिभी भर्दा ठगिने र रकम गुमाउनेमात्र होइन आफ्ना विवरणहरु समेत चोरिने सम्भावना हुन्छ । ५, एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । कतिपयले एउटा भन्दा बढी आवेदन दिंदा डिभी पर्ने चान्स बढी हुने भ्रममा परेर धेरै आवेदन समेत दिने गरेका छन् । तर यसो गर्दा तपाईका सबै आवेदनहरु डिभीका लागि अयोग्य हुन्छन् । तपाईका कोही आफन्तले तपाईका नाममा डिभी भरिसकेका छन् भने पनि तपाईले अर्को डिभीको आवेदन दिनु हुँदैन ।

२ बर्षदेखि  पासपोर्ट अनिवार्य

२ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो । पासपोर्ट अनिवार्य गरिएको यो तेश्रो बर्ष हो ।  पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ । कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा भने पासपोर्टको विवरण बुझाउनु नपर्ने विकल्प समेत दिइएको छ । अमेरिकी सरकारले भनेको छ – ‘अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।’
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update