हिमाल दैनिक
विश्वकपमा पाकिस्तानको सानदार सुरुआत, भारत १० विकेटले पराजित
gettyimages-1348641274-1024x1024-1
चिर प्रतिद्वन्दी भारतलाई टी-ट्वान्टी विश्वकप इतिहासमै पहिलो पटक हराउँदै पाकिस्तानले सातौं संस्करणको टी-ट्वान्टी विश्वकपमा विजयी सुरुवात गरेको छ। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई पछ्याउँदै १० विकेटको जित हात पार्‍यो। टि-ट्वान्टी विश्वकप इतिहासमा भारत विरूद्ध पाकिस्तानको यो पहिलो जित हो। यसअघि विश्वकपमा भएका ५ वटै भेटमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। पाकिस्तानको जितमा कप्तान मोहम्मद रिजवानले सर्वाधिक ७९ रन बनाए। ५५ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान बबर आजमले ५२ बलमा ६ चौका र २ छक्का मद्दतले ६८ रन बनाए। लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात राम्रो रह्यो जुन क्रममा पावरप्लेमा विकेट नगुमाई उसले ४३ रन बनायो। त्यसपछि पनि मोहम्मद रिजवान र बाबर आजमले विकेट दिएनन्। मध्यम ओभरमा भारतीय बलरले कसिलो बलिंग गरेता पनि वरुण चक्रवर्तीले गरेको तेह्रौं ओभरमा १६ रन बनाउदै रन गतिको दबाब हटायो। आजम र रिजवानले वर्ष २०२१ मा चौंथो पटक शतकीय साझेदारी पुरा गरे। जितको लागि ३ ओभरमा १८ रन आवस्यक हुँदा मोहम्मद रिजवानले मोहम्मद शामीले गरेको अठारौं ओभरको पहिलो ३ बलमा छक्का र २ चौका प्रहार गरे। ओभरको पाँचौ बलमा आजमले २ रन लिँदै पाकिस्तानलाई जितसम्म पुर्‍याए। यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। भारतको ब्याटिङमा कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए। ४९ बलमा उनले ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रिशभ पन्तले ३० बलमा २ चौका र २ छक्का मद्दतले ३९ रन बनाए। रभीन्द्र जडेजाले १३ तथा सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान ११-११ रन बनाए। भारतको सुरुवात खराब रह्यो। पहिलो ओभरमा खाता नखोल्दै रोहित शर्मा तथा तेस्रो ओभरमा ३ रन बनाएका केएल राहुललाई शाहिन अफ्रिदीले क्रमशः एलबिडब्लु र बोल्ड गरे। छैठौं ओभरमा हसन अलिले ११ रन बनाएका सूर्यकुमार यादवलाई विकेट पछाडि क्याच आउट गराए। पावरप्लेमा भारतले ३६ रन बनाउँदा ३ विकेट गुमायो। चौंथो विकेटको लागि तेस्रो नम्बरमा ब्याटिङ गरेका कप्तान कोहली र रिशभ पन्तले अर्धशतकीय साझेदारी गर्दै स्थिरता दिए। साझेदारी खतरनाक देखिएकै बेला तेह्रौं ओभरमा पन्तलाई शदाब खानले आफैंद्वारा क्याच आउट गराए। कोहलीले त्यसपछि रभीन्द्र जडेजासँग ४१ रनको साझेदारी गरे। अठारौं ओभरमा जडेजालाई हसन अलिले क्याच आउट परे। लगत्तै ओभरमा कोहलीलाई शाहिन अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट पारे। तर उक्त ओभरमा अफ्रिदीले १७ रन खर्चिए जसमा नो बलमा एउटा चौका तथा ओभर थ्रोको रुपमा बाईको रुपमा ४ रन सामेल रह्यो। अन्तिम ओभरमा हरिस रौफले मात्र ७ रन खर्चेर हार्दिक पान्ड्याको विकेट लिए। अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ५१ रन बनायो। पाकिस्तानको बलिङमा शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिएका उनले ४ ओभरमा ३१ रन खर्चिए। हसन अलिले २ विकेट तथा हरिस रौफ र शदाव खानले समान एक-एक विकेट लिए। प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल न्युजिल्यान्ड बिरुद्ध अक्टोबर २६ मा तथा भारतले अक्टोबर ३१ तारिखमा न्युजिल्यान्ड बिरुद्ध खेल्नेछन्। पाकिस्तानले जित दर्ता गर्दा बिभिन्न ५ ठूला रेकर्डहरु बनेका छन्। १. भारत बिरुद्ध आईसीसी विश्वकप इतिहासमै यो पाकिस्तानको पहिलो जित हो। यसअघि टि-ट्वान्टी विश्वकपमा ५ पटक तथा एकदिवसीय विश्वकपमा ७ पटक भारतले पाकिस्तानलाई पराजित गरेको थियो। २. पाकिस्तानको १० विकेटको जित टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै भारतबिरुद्ध कुनै पनि टिमको सबैभन्दा ठूलो विकेट अन्तरको जित हो। १० विकेटको अन्तरले भारतलाई पराजित गर्ने पाकिस्ताननै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्वकै पहिलो टिम बनेको छ। ३. पाकिस्तानले लक्ष्य पछ्याउँदै विकेट नगुमाई बनाएको १५२ रन टी-ट्वान्टी विश्वकप इतिहासमै कुनै पनि टिमले विकेट नगुमाई पछ्याएको सर्वाधिक योगफल हो। जारी विश्वकपको समूह चरणको खेलमा आयोजक ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दा लक्ष्य पछ्याउदै १३० रन बनाएको थियो जुन रेकर्ड पाकिस्तानले केहि दिनको अन्तरमै तोडेको हो। ४. भारत बिरुद्धको १० विकेटको जित पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमै विकेटको आधारमा सबैभन्दा ठूलो जित हो। यस अघि पाकिस्तानले १० विकेटले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल जित्न सकेको थिएन। ५. बाबर आजम र मोहम्मद रिजवानले गरेको अविजित १५२ रनको साझेदारी भारत बिरुद्ध कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी हो। यसअघि यो रेकर्ड शेन वाटसन र डेभिड वार्नरको नाममा थियो जसले पहिलो विकेटको लागिनै सन् २०१२ मा भारत बिरुद्ध १३३ रनको साझेदारी गरेका थिए। ९ वर्ष पछि उक्त कीर्तिमान आजम र रिजवानले उक्त साझेदारीको रेकर्ड तोडेका हुन्। यस्तै यो साझेदारी पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि दोस्रो ठूलो साझेदारी हो। सर्वाधिक साझेदारीको रेकर्ड पनि आजम र रिजवानकै नाममा छ जसले यसै वर्ष अप्रिलमा दक्षिण अफ्रीका बिरुद्ध १९७ रनको ओपनिंग साझेदारी गरेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update