हिमाल दैनिक
चिर प्रतिद्वन्दी भारतलाई टी-ट्वान्टी विश्वकप इतिहासमै पहिलो पटक हराउँदै पाकिस्तानले सातौं संस्करणको टी-ट्वान्टी विश्वकपमा विजयी सुरुवात गरेको छ। युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई पछ्याउँदै १० विकेटको जित हात पार्‍यो। टि-ट्वान्टी विश्वकप इतिहासमा भारत विरूद्ध पाकिस्तानको यो पहिलो जित हो। यसअघि विश्वकपमा भएका ५ वटै भेटमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो। पाकिस्तानले जित दर्ता गर्दा बिभिन्न ५ ठूला रेकर्डहरु बनेका छन्। १. भारत बिरुद्ध आईसीसी विश्वकप इतिहासमै यो पाकिस्तानको पहिलो जित हो। यसअघि टि-ट्वान्टी विश्वकपमा ५ पटक तथा एकदिवसीय विश्वकपमा ७ पटक भारतले पाकिस्तानलाई पराजित गरेको थियो। २. पाकिस्तानको १० विकेटको जित टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमै भारतबिरुद्ध कुनै पनि टिमको सबैभन्दा ठूलो विकेट अन्तरको जित हो। १० विकेटको अन्तरले भारतलाई पराजित गर्ने पाकिस्ताननै टि-ट्वान्टी अन्तर्राष्ट्रियमा विश्वकै पहिलो टिम बनेको छ। ३. पाकिस्तानले लक्ष्य पछ्याउँदै विकेट नगुमाई बनाएको १५२ रन टी-ट्वान्टी विश्वकप इतिहासमै कुनै पनि टिमले विकेट नगुमाई पछ्याएको सर्वाधिक योगफल हो। जारी विश्वकपको समूह चरणको खेलमा आयोजक ओमानले पपुवा न्यु गिनीलाई १० विकेटले पराजित गर्दा लक्ष्य पछ्याउदै १३० रन बनाएको थियो जुन रेकर्ड पाकिस्तानले केहि दिनको अन्तरमै तोडेको हो। ४. भारत बिरुद्धको १० विकेटको जित पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमै विकेटको आधारमा सबैभन्दा ठूलो जित हो। यस अघि पाकिस्तानले १० विकेटले टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल जित्न सकेको थिएन। ५. बाबर आजम र मोहम्मद रिजवानले गरेको अविजित १५२ रनको साझेदारी भारत बिरुद्ध कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी हो। यसअघि यो रेकर्ड शेन वाटसन र डेभिड वार्नरको नाममा थियो जसले पहिलो विकेटको लागिनै सन् २०१२ मा भारत बिरुद्ध १३३ रनको साझेदारी गरेका थिए। ९ वर्ष पछि उक्त कीर्तिमान आजम र रिजवानले उक्त साझेदारीको रेकर्ड तोडेका हुन्। यस्तै यो साझेदारी पाकिस्तानको टि-ट्वान्टी अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि दोस्रो ठूलो साझेदारी हो। सर्वाधिक साझेदारीको रेकर्ड पनि आजम र रिजवानकै नाममा छ जसले यसै वर्ष अप्रिलमा दक्षिण अफ्रीका बिरुद्ध १९७ रनको ओपनिंग साझेदारी गरेका थिए।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update