मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षाको शुल्क तोकिएभन्दा बढि लिएको गुनासो आएको भन्दै सत्यतथ्य छानविन गरि जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले केही मेडिकल कलेजले चिकित्सा शिक्षाको शुल्कका बिषयमा छानविन गर्दै प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै बैठकले संघीय शिक्षा बिधेयक यथासिघ्र संसदमा पेश गर्न पनि निर्देशन दिएको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई संघीय व्यवस्थामार्फत सञ्चालन गर्नका सरकारले सुझाव संकलन गरिरहेको बताए । मन्त्री पौडेलले अहिले प्लस टुलाई माध्यमिक स्तरमा ल्याइसकेकाले एसइईलाई के गर्ने भन्ने सम्बन्धमा सरोकारवालाहरुको सुझाव लिइरहेको र त्यसका आधारमा सरकारले आवश्यक निर्णय लिने जानकारी दिए । शिक्षासँग सम्बन्धित सबै प्रकारका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको धारणा राखे ।
बैठकमा सांसद खगराज अधिकारीले प्लस टुलाई माध्यमिक स्तरमा ल्याइसकेकाले एसइईलाई खारेज गर्नुपर्ने बताए । उनले शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन बिद्यार्थी, शिक्षक र अभिभावकलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।
त्यस्तै सांसद गिरिराजमणी पोखरेलले मेडिकल शिक्षा अध्ययनका लागि पूर्वाधार निर्माण बिषयमा भएका व्यवस्थाका बिषयमा अध्ययन गर्दै स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
समिति बैठकमा संघीय शिक्षा ऐन र प्राविधिक शिक्षा तथा व्यवसायिक ऐनका सम्बन्धमा छलफल भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय