हिमाल दैनिक
सुडानका प्रधानमन्त्रीद्धारा राजीनामा
Abdalla Hamdok-sudan-primeminister
सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन् । उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ । यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ । राजनीतिक संकट थप बढ्दै गएका बेला उहाँले आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिनु भएको बताइएको छ । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीको रुपमा मेरो राजीनामा घोषणा गरेको छु ।’ सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्नेे बताएका छन् । गत अक्टोबर महिनामा सेनाले कू गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो । त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो । सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोक समेत लगाएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update