हिमाल दैनिक
प्रम देउवासमक्ष कांग्रेसका महिला नेतृहरुको ज्ञापन पत्रः कानूनमा हदम्यादको छिद्र हटाउन माग
283863852_2608212002644846_5111720574562123450_n
नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा रहेका महिला सदस्यहरुले लैंगिक हिंसा, जबर्जस्ती करणी लगायत अपराधको नियन्त्रण तथा मौलिक हकको सुनिश्चितताको माग गर्दै सरकार सम्बन्धीत पदाधिकारीको ध्यानाकर्षण गराएका छन्। केन्द्रीय सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायको नेतृत्वमा कांग्रेसका करिब तीन दर्जन महिला नेतृहरुको समूहले बुधबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई उनको सरकारी निवास बालुवाटारमा पुगी विभिन्न समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका हुन्। महिला, बालबालिकामाथि समाजमा हुँदै आएका यौनजन्य अपराधको विषयमा पछिल्लो समय सामाजिक संजालमार्फत बहसमा आएको कानूनी व्यवस्थामा हदम्यादको विषयबारे पनि महिला नेतृहरुले उठाएका विषयलाई गम्भीरतापूर्वक लिँदै प्रधानमन्त्री देउवाले कानूनी व्यवस्थामा रहेको विद्यमान प्रावधानमा समयानुकूल परिमार्जन गर्ने बारे सरकार गम्भीर रहेको बताउँदै यसबारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिएको एक नेतृले बताइन्। प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई ६ बुँदे ज्ञापनपत्र बुझाउन जानुपूर्व सहमहामन्त्री उपाध्यायसहितको टोलीले पार्टी अफिस सानेपामा पत्रकार सम्मेलन गर्दै लैंगिक हिंसा, जबर्जस्ती करणी जस्ता जघन्य अपराधको नियन्त्रण र पीडितलाई न्याय दिने सवालमा विद्यमान कानूनमा रहेका हदम्यादसँगै व्यवहारिक समस्यालाई हटाउन कानून संशोधन जरुरी भएको धारणा राखेका थिए। पत्रकार सम्मेलनमा सहमहामन्त्री उपाध्यायले संविधानको मौलिक हकमा उल्लेखित सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको अधिकारको सुनिश्चितताका लागि राज्यले नीति तथा कार्यक्रमसँगै बजेटमार्फत व्यवस्था गर्न माग गरिन्। साथै उनले संसदमा विचाराधिन नागरिकता सम्बन्धी विधेयकमा आमाको नामबाट सरल र सहज ढंगले नागरिकता दिने व्यवस्थासहितको प्रावधान मिलाएर तत्काल कानून संशोधन गर्न र राज्यका सबै तह र निकायमा संविधानले प्रत्याभूत गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइन्। विशेषगरी हालै सम्पन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको नाममा गरिएको उम्मेदवारी दर्ता प्रक्रियामा कानूनी छिद्रको साहारामा दलहरुले महिलाको प्रतिनिधित्व घटाउने कार्य गरिएको विषयले चिन्तित बनेका महिला नेतृहरुले यो कार्यलाई आगामी प्रदेश र संघको निर्वाचन प्रक्रियामा पुनरावृत्ति नहोस् भनि राज्य, राजनीतिक दल निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आएका छन्। साथै कांग्रेसका महिला नेतृहरुले विभिन्न बहानामा इन्धनमा भएको मुल्यबृद्धि र बजारमा छाएको अनियन्त्रित महंगीले सबैभन्दा बढी गृहिणीहरु पीडित भएको भन्दै तत्काल इन्धन तथा दैनिक उपभोग्य सामाग्रीमा मुल्य घटाउन पनि सरकारको ध्यानाकर्षण गरेका छन्। लैगिक हिंसा जबर्जस्ती करणी सम्बन्धमा,स्वास्थ सम्बन्धमा,आमाको नामबाट नागरिकता सम्बन्धमा,समानता र समावेशी सम्बन्ध,सामाजिक सुरक्षा सम्बन्धमा,र मुल्य विर्द्दी र महङ्गी सम्बन्धमा सम्माननिय प्रधानमन्त्री एवम् आदरणीय नेता गिर्हमन्त्री बालकृष्ण खाडज्युलाई ज्ञापनपत्र बुझाएका छौ।
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update