हिमाल दैनिक
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव वेवारेसी अवस्थामा परेजस्तो भएपछि विपक्षी दलका सांसदले सभामुखको ध्यानाकर्षण गराएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेकपा एमाले सांसद खगराज अधिकारीले महाभियोगको प्रस्तावलाई सदनमा असरल्ल नपार्न आग्रह गर्दै तत्का अघि बढाउन माग गरेका छन्। सांसद अधिकारीले महाभियोगको विषयमा चर्चा गर्दै भने, ‘महाभियोगको प्रस्ताव असरल्लै पार्न ल्याएको हो कि फैसला गर्न ल्याएको हो? त्यो तुरुन्तै अगाडि बढाइयोस्।’ सरकारमा रहेका प्रमुख तीन दलका ९५ जना सांसदहरुले प्रधानन्यायाधीश जबरालाई विभिन्न आरोप लगाउँदै अघिल्लो अधिवेशनमा संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उक्त प्रस्ताव दर्ता भएलगत्तै निलम्बनमा परेका जबरा अहिले पनि निलम्बनकै अवस्थामा छन् भने, उक्त प्रस्तावमाथि सदनभित्र सामान्य जानकारी गराएपछि त्यसपछिको छलफल प्रक्रिया अघि बढ्न सकिरहेको छैन। यसरी महाभियोग प्रस्तावमाथिको छलफल र संसदीय प्रक्रिया अघि नबढाएको विषयमा कतिपय विपक्षी दलका नेता तथा समर्थकहरुले सत्ता साझेदार दलका सांसदहरुले उक्त प्रस्ताव पारित हुने आधार तय नभएको कारण उक्त प्रस्तावलाई प्रक्रियामा नलगी जबरालाई सेवा अवधिको आधारमा स्वत पदमुक्त हुने बाटोसमम पुर्याउन खोजिएको आरोप लगाउँने गरेका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update