हिमाल दैनिक
सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानविन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या भएको घटना दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्र्षण गराएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन्। सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिए। सांसद बोगटीले उक्त घटनाको राजनीतिकरण भएको आरोप समेत लगाए। अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराएका हुन्। गृहमन्त्री बालकृष्ण खाणले मंगलबारको संसदमा जानकारी दिनेक्रममा दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाए पनि घटनाको जाहेरी दर्ता नभएको बोगटीले बताए। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भिरमा शव फेला परेको थियो। मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update