हिमाल दैनिक
प्रतिनिधिसभाका सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक हुनुले मुलुकको न्यायालयको अवस्था के छ भनेर छर्लङ्ग भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताउनुभयो । केही दिनअघि सञ्चारमाध्यमबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एशोसिएशनका पूर्व कोषाध्यक्ष अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेन भएको भनिएको संवाद सार्वजनिक भएको थियो । उक्त घटनाको सर्वत्र विरोध भइरहेका बेला यो विषयले सदनमा समेत प्रवेश पाएको छ । राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको आरोप लगाउँदै सांसद सिटौलाले भन्नुभयो, “सबै सेटिङमा घुस खाने, पैसा जोड्ने, गाडी जोड्ने, घर बनाउने, जनता हेरिरहने ?” उहाँले आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । “यसका बारेमा सिङ्गो संसद् एकजुट हुनुपर्छ कि पर्दैन ?”, उहाँले सदनमा प्रश्न गर्नुभयो । उहाँले यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश डुबाउनेहरूलाई खबरदारी गर्न जरुरी रहेको पनि औँल्याउनुभयो । रासस
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update