हिमाल दैनिक
कांग्रेस नेता निधि र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच दिल्लीमा भेटवार्ता
Nidhi and Bijya
पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख बिजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा बुधबार बिहान भएको एक घण्टा लामो भेटमा नेपाल–भारत दुई देश तथा नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध आगामी दिनमा थप सुदृढ बनाउने लगायतका बिषयमा छलफल भएको थियो। त्यस अबसरमा कांग्रेस पूर्व उपसभापतिसमेत रहेका निधिले रामजन्मभूमि अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने बिषयमा श्रीराम जन्मभूमि तीर्थक्षेत्रका पदाधिकारीसँगको बैठक उपलब्धीमूलक भएको बताएका थिए। यसले दुई देशबीच रहेको आदिकालदेखिको सम्बन्धलाई सबै क्षेत्रमा दीर्घकालीन रुपमा थप बलियो बनाउने विश्वास निधिले व्यक्त गरेको निधिका प्रेस सहयोगी रामजी दाहालले बताएका छन्। चौथाइवालेले राम मन्दिरमा धनुष राख्ने काम महत्वपूर्ण हुने भन्दै यसले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने बिश्वास व्यक्त गरेका थिए। गत शुक्रबार अयोध्या पुगेका निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका थिए।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update