हिमाल दैनिक
कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटघाट, नेपालको भौतिक पूर्वाधार विकासबारे छलफल
nidhi Gadkari1
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले भारत सरकारका सडक परिवहन मन्त्री नितिन गडकरीसँग भेटवार्ता गरेका छन्। पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व उपसभापति समेत रेहका नेता निधिले भारतीय सरकारका प्रभावशाली मन्त्रीका रुपमा परिचित गडकरीसँग नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल गरेको जानकारी उनका प्रेस सहयोगी रामजी दाहालले दिएका छन्। सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा घण्टा लामो छलफलमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (पूmलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न पनि आग्रह गरेको बताइएको छ। निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरुलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए। स्मरणीय छ, जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो। यसैगरी, कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन्। यसैबीच, मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ। भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रण लगायतका बिषयमा छलफल भएको छ। मन्त्री गडगरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि सहभागी थिए। त्यस अबसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राबिधिक सहयोग उपलब्ध गराउने बिषय अगाडि सारेका थिए। केही दिन अघि निधि सपरिवार राम जन्मभूमि अयोध्याधामको भ्रमण गरी नयाँ दिल्ली पुगेका थिए।
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update