हिमाल दैनिक
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता
296277063_580924996838568_881800341927403058_n
भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौँ, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा उहाँले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताउनुभएको पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो । नेता निधि र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस)का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो । महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसक्नुभएको छ । इन्दिरा गान्धीको शासनकालमा भारतमा सङ्कटकाल जारी हुँदा उहाँ १६ महिना जेल बस्नुभएको थियो । रासस
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update