हिमाल दैनिक
रूस्दीको स्वास्थ्य सुधारोन्मुख, भेटिलेटरबाट निकालियो
Rushdie
विश्वचर्चित लेखक सलमान रूस्दीको स्वाथ्यमा क्रमिक सुधार आएको छ । उहाँको स्वास्थ्य स्थिर भएसँगै उहाँलाई चिकित्सकले भेटिलेटरबाट निकालेर सामान्य शय्यामा उपचार गरिरहेका छन् । उहाँ बोल्न थाल्नुभएको छ । रूस्दीका साथी आतिश तासीरले उहाँले ख्यालठट्टा गर्न थाल्नुभएको सामाजिक सञ्जालमा लेखेका छन् । विवादास्पद ‘सटानिक भर्सेस’का ७५ वर्षीय लेखकमाथि गत शुक्रबार पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा २४ वर्षीय हादी माटरले चक्कु प्रहार गरी हत्याको दुष्प्रयास गरेका थिए । माटरले उहाँको घाँटी, पेट र हातमा चक्कुले पटक प्रहार गर्दा उहाँ गम्भीर घाइते हुनुभएको थियो । यसैबीच, आक्रमणकारी माटरले हत्या र आक्रमणको आरोपमा आफू दोषी नभएको वयान दिएका छन् भने अभियोजकले त्यसलाई पूर्वनियोजित अपराध भनेका छन् । पश्चिमी न्युयोर्कमा भएको बहसका क्रममा न्यायाधिवक्ता जेसन स्मिटले अभियुक्त हत्याको योजनाका साथ ‘फर्जी प्रवेशपत्र लिएर कार्यक्रमस्थलमा पुगेको र त्यो अग्रिमरूपमा उसलाई हासिल भएको’ बताएपछि न्यायाधीशले जमानतबिना नै उनलाई हिरासतमा राख्न आदेश दिएका छन् । कालो र सेतो पोशाक अनि अनुहारमा ‘मास्क’ लगाएको अभियुक्तलाई न्यायाधीशसमक्ष उपस्थित गराइएको थियो । लेखक, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, सरकारी अधिकारीले रूस्दीको साहसको सराहना गर्दै आफ्नो जीवनलाई जोखिममा पारेर उहाँले वाक् स्वतन्त्रताका निम्ति योगदान गरेको बताएका छन् । उनीहरूले रूस्दीलाई विश्वभरका सताइएका लेखक एवम् पत्रकारका प्रेरणाका पुञ्ज भएका बताएका छन् । लेखक एवम् कलाकार कल पेनले रूस्दी दक्षिण एशियालीका लागि उदाहरणीय एवम् आदर्श व्यक्ति हुन् भनेका छन् । स्वतन्त्र र खुला समाजका पक्षपाति रूसदी सत्य प्रस्तुत गर्न नहिच्किचाउने साहसी सर्जक भएको उनले बताएका छन् । सन् १९८१ मा प्रकाशन भएको उहाँको उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको तीक्ष्ण आलोचना गर्नुभएको थियो । उक्त कृति सार्वजनिक भएको सात वर्षपछि छापिएको सटानिक भर्सेसले उहाँलाई विश्वभर चर्चाको चुलीमामात्र पु¥याएन अपितु इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रूहोल्लाह खोमेनीले मृत्युदण्ड सुनाए । सटानिक भर्सेसले इस्लाम धर्म र पैगम्बर मोहम्मदको निन्दा गरेको आरोप छ । रासस÷एपी
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update