हिमाल दैनिक
कीर्तिपुर ४ का वडाअध्यक्ष श्याम अधिकारीको दुःखद निधन

कीर्तिैपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ।

वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका वडाअध्यक्ष अधिकारीको उपचारका क्रममा आइतबार माइतीगरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको जानकारी स्थानीय बासिन्दा एवं अधिकारीका अनन्य मित्र सुनील बस्नेतले दिए।

नयाँ वर्षको उपलक्ष्यमा चम्पादेवी मन्दिरमा विशेष पूजाआजको लागि स्थानीय बासिन्दाहरुसँग गएका अधिकारी बाटोमा हिँड्ने क्रममा खुट्टाको मसलमा दुखाई कारण बिचबाटैबाट फर्किएका थिए। पुष्पलाल स्मृति प्रतिस्ठानको पार्क नजिकैको बाटोमा मोटरसाइकलमा आउने क्रममा दुर्घटनामा परेपछि उनीसँगै मोटरसाइकल चालक मनोज बुढाथोकीलाई कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको थियो।

टाउकोमा गम्भीर चोट लागेको कारण अस्पतालले तत्काल थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा पठाएपछि सोही दिन तत्काल अस्पताल भर्ना गरी उपचार गराइरहेका अधिकारीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी अस्पतालले दिएको थियो।

मोटरसाइकल चालक बुढाथोकीे सामान्य उपचार पश्चात घर फर्किसकेका छन् भने, अधिकारीको टाउकोमा गम्भीर चोट लागेको कारण अस्पतालको सघनकक्षमा उपचार भइरहेको थियो।

‘तर, आजै राती अधिकारीको रक्तचापमा उतारचढाब आएपछि स्थिति थप जटिल बनेकोमा अहिले अपरान्ह उपचारका क्रममा उहाँको दुःखद निधन भयो,’ स्थानीय युवा बस्नेतले भने।

विगत लामो समयदेखि स्थानीय क्षेत्रका सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका अधिकारी गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा ४ नम्बर वडाको वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा पाँच जनाको टिमसहित उम्मेदवारी दिएर अत्याधिक मतले निर्वाचन भएका थिए। जसमा अन्य तीन सदस्यमा पनि आफ्नै टिमबाट अघि सारेका स्वतन्त्र उम्मेदवारहरुलाई विजयी बनाउन सफल भएका थिए।

करिब ४७ वर्षका अधिकारीकी श्रीमती, एक छोरा र एक छोरी छन्।

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update