हिमाल दैनिक
बारा–२ मा कुशवाहलाई फराकिलो अन्तरले पछिपार्दै अघि बढे उपेन्द्र यादव

आइतबार सम्पन्न उपनिर्वाचन अन्तरगत बारा–२ को जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्।

सोमबारदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार, जनता समाजवादी पार्टीका अध्यक्ष यादवले १३,६१५ मतका साथ अग्रता लिइरहेका छन्। उनका निकटम प्रतिद्वन्द्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ९ हजार २६ मतका साथ यादवलाई पछ्याइरहेको छन् भने एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३५ सय १६ मत ल्याएर तेस्रो स्थानमा पछिपछि लागेका छन्।

बारा जिल्लाको सदरमुकाम कलैयास्थित शैक्षिक तालिम केन्द्रमा कडा सुरक्षाघेराभित्र मतगणना कार्य जारी छ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतबार उपनिर्वाचन भएको थियो।

कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार आठ सय ८७ मतदान भएको थियो। महागढी र पचरौता नगरपालिका, करैयामाई , सुवर्ण र देवताल गाँउपालिकाको ४४  वडा समेटिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update