हिमाल दैनिक
मनमोहन अधिकारी स्मृति दिवसः सिद्धान्त र दिशाहिन गठबन्धनले मुलुक संकटमा पर्दैछः उपाध्यक्ष पोखरेल
नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४औँ स्मृति दिवसका अवसरमा सानेपास्थित उहाँको प्रतिमामा बुधबार श्रद्धाञ्जलि व्यक्त गर्दै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली । तस्बिर सौजन्य: एमालेका अध्यक्ष ओली सचिवालय/रासस

प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २४ औँ स्मृति दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ।
स्मृति दिवसका अवसरमा भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले बुधबार ललितपुरको सानेपामा आयोजित कार्यक्रममा अधिकारीको शालिकमा माल्यार्पण गर्नुका साथै र स्वर्गीय अधिकारीको विचार र योगदानको स्मरण गरिएको थियो।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेल, पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगाएतले अधिकारीको शालिकमा पुष्पगुच्छा अर्पण गरी अधिकारीप्रति सम्मान प्रकट गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिमा अहिले दुई ध्रुब देखापरेको उल्लेख गर्दै एउटा पोलले राष्ट्रिय राजनीतिमा स्थायीत्व, आर्थिक विकास र संमृद्धीको कुरासँगै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता तथा समाजिक सदभावमा देश बनाउने कुरा गर्ने पोलको नेतृत्व विगतमा मनमोहन अधिकारी र वर्तमानमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले गरेको दाब िगरे।
पोखरेलले एमालेको विपरित ध्रुबमा अर्को पक्ष सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्र मूल्य मान्यताविपरीत खडा गरिएको गठबन्धनले मुलुकलाई धरासायी बनाउने र दिशा बिहिन अवस्थामा पुर्याउँदै गरेको आरोप समेत लगाए।
आजको परिस्थितिमा मनमोहन अधिकारीप्रतिको सच्चा सम्मानका लागि मुलुकमा राजनीतिक स्थायित्व, संमृद्धि र विकाससँगै राष्ट्रिय जागरणको दिशामा एकताबद्ध भएर काम गर्नु पर्नेमा उनले जोड दिए।

विसं २०५१ मा प्रधानमन्त्री निर्वाचित अधिकारी नेतृत्वको सरकारको पालामा वृद्धभत्तालगायतका सामाजिक सुरक्षाका कार्यक्रम, ‘आफ्नो गाउँ, आफैं बनाउँ’ र ‘नौ स’को अभियानजस्ता अभियान सुरु गरेका थिए।
जसको आधारमा एमाले पार्टी र यसका नेताहरुले अहिले पनि जनतामाझ राजनीतिक संगठन र जनमतको संकलन गर्ने कार्य जारी नै राखेको छ।

अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update