हिमाल दैनिक
अदालत जाँदै गरेका खाणले भनेः नक्कली शरणार्थी प्रकरणमा म संलग्न छैन

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले उक्त कार्यमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीको सूचिमा समावेश गरी अमेरिका लगायत तेस्रो मुलुकमा पठाइदिने आश्वासन दिएर सयौँ मानिसहरुबाट अर्बौँ रुपैयाँ ठगि गरेको आरोपमा प्रहरीले चार दिनअघि पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेका खाड लगायतका आरोपितहरुको अनुसन्धान प्रक्रिया जारी रहेको भन्दै प्रहरीले चार दिन म्याद थपको माग गर्दै आइतबार सरकारी वकिलको कार्यालयबाट काठमाडौं जिल्ला अदालत लैजाने क्रममा पत्रकारसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

सरकारी वकिलको कार्यालयबाट सुरक्षा घेराकोबीचबाट निस्कँदै गरेका नेपाली कांग्रेसका नेता खाणसँग पत्रकारहरुले केहि भन्नुहुन्छ मिडियालाई भन्ने प्रश्नको सम्क्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘यो प्रकरणमा म संलग्न छैन।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाँणलाई प्रहरीले पक्राउ गरेको थियो।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा तत्कालिन गृहमन्त्रालयले गठन गरेको छुट शरणार्थीहरुको सूचिसम्बन्धी प्रतिवेदनको अनुसूचिमा गृहमन्त्रालयका उच्चपदस्थ पदाधिकारीदेखि विचौलियाहरुले अनुसूचि फेरबदल गर्दै नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचिमा राखेर तेस्रो मुलुक पठाउने भन्दै ठगि गरेको आरोपमा अहिलेसम्म पूर्वमन्त्री खाडका अतिरिक्त पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १२ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

यसरी अनुसन्धानको प्रक्रियामा रहेका खाणको विषयमा प्रहरी स्रोतको हवला दिँदै कतिपय संचारमाध्यमहरुले नक्कली शरणार्थी प्रकरणमा खाण स्वयंले संलग्न भएको वयान दिएको समाचार प्रकासित हुँदै आएकोबेला खाणले आइतबार भने आफू संलग्न नभएको दाबी गरे।

उक्त प्रकरणमा प्रहरीले नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पक्राउ पूर्जी जारी गरेपछि उनी अहिले फरार भएका छन् भने आजै मात्र प्रहरीले पूर्व गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापाका छोरा र कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update