हिमाल दैनिक
सक्कली शरणार्थी नेता रिजाल नक्कली शरणार्थीको गिरोहमा संलग्न भएको आरोपमा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मीका नाउँले परिचित टेकनाथ रिजाल पक्राउ परेका छन्।

काठमाडौंबाट बिहिबार पक्राउ परेका रिजाललाई बिहीबार नै सरकारी वकिलको कार्यालय र त्यसपछि काठमाडौं जिल्ला अदालतमा उपस्थीत गराईको थियो।

उनलाई शरणार्थी प्रकरणमा भएको ठगिमा संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन् १९९० यता भुटानमा मानवअधिकार र प्रजातन्त्रको माग गर्दै पटक पटक जेलजीवन र निर्वासित जीवन जीउँदै आएका रिजाल नै नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर तेस्रो मुलुकमा पुनस्र्थापना गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीको नियन्त्रणमा परेपछि नक्कलीसँगै सक्कली शरणार्थी प्रकरणको विषयले समेत नयाँ मोड लिने सम्भावना बढेको छ।

त्यस्तै बिहीबार नै पक्राउ परेका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले अदालतमा उपस्थीत गराएको छ। पक्राउ परेका दुबैलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौ जिल्ला अदालतले अनुमति दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिएका छन्।

यसअघि तेस्रो मुलुकमा पुनस्र्थापना हुन बाँकी शरणार्थीको लगत संकलन गर्ने नाउँमा गृहमन्त्रालयभित्रैका जिम्मेवारी पदाधिकारीदेखि संगठित गिरोहले गैरभुटानी विशेषगरी नेपाली नागरिकको नाम समावेश गरी विदेशमा पठाइदिने भन्दै करोडौँ रुपैयाँ असुल गरेको विषय सतहमा आएपछि उक्त विषयमा छानविन र अनुसन्धान जारी छ।

यस प्रक्रियामा पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत दर्जन बढी व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ।

.पक्राउ परेका व्यक्तिहरुसँग सरकारी वकिलको कार्यालयमा वयान लिने प्रक्रिया सकिएपछि अबको तीन दिनभित्र प्रहरीले सम्भवत उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा आरोपपत्रसहित मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update