हिमाल दैनिक
मुगु जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

सोमबार यहाँ भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । उपचारका लागि अस्पताल लैजाँदै गर्दा एक घाइतेको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनुभएका सोरु गाँउपालिका५ का वडा सदस्य लोकजङ्ग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुङ्गानाले जानकारी दिनुभयो । घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ ल्याउँदै बाटोमै मृत्यु भएको हो ।
    
    जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परी हुम्ला सर्केगाड(२ रिपगाउँका राम परियार, प्रकाश बोहोरा, राम परियार, पिउस परियारको मृत्यु भइसकेको छ ।

    साथै दुर्घटनामा परी घाइते सोरु–७ का चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही सोरु–६ का सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उदीप बोहोराको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । लगातार भइरहेको वर्षाका कारण घाइतेको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाउन कठिनाइ भइरहेको अस्पतालले जनाएको छ ।

सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगुको सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग १ ज ७७६२ नं को जिप सोरु गाउँपालिका–७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल छेउमा खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update