हिमाल दैनिक
धादिङ बस दुर्घटनाः आठको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
काठमाडौँबाट बुधबार पोखरा जाँदै गर्दा अनियन्त्रित भई धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएका प्रदेश ३–०१–००५ ख ९९५२ नं बस । तस्बिरः शङ्कर श्रेष्ठ/रासस

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

काठमाडाँैबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने चार जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक  अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update