हिमाल दैनिक
चौतर्फी संकटको भूमरीमा फँस्दै गरेको मुलुकलाई पार लगाउने जिम्मेवारी कांग्रेसले लिनैपर्छः रुंगटा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिलकुमार रुंगटाले पछिल्लो समयमा मुलुक आर्थिक, सामाजिक, धार्मिक र राजनीतिक संकटको भूमरीतर्फ उन्मुख भएको भन्दै यी सबै समस्याको समाधान खोज्न कांग्रेस र यसको नेतृत्वलाई विशेष आग्रह गरेका छन्।

सभापति शेरबहादुर देउवाबाट असोज ४ गते केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भएका रुंगटाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार पहिलोपटक बोल्दै मुलुक र जनताको भरोसाको केन्द्र कांग्रेस नै बन्नुको विकल्प नभएको बताए।

उनले मुलुकको अर्थतन्त्र जर्जर अवस्थामा पुगेकोकारण यसले मुलुकको समग्र आर्थिक विकासको गतिमा मन्दी आएको मात्र होइन, यसले विकास खर्चमा कमि, रोजगारीको अवसरमा न्यूनिकरण र चरम मूल्यबृद्धिले जनतामा राजनीतिक दल र राज्यप्रति नै वितृष्ण फैलिएको भन्दै यसतर्फ पार्टी गम्भीर हुनु पर्नेमा जोड दिए।

नवमनोनित केन्द्रीय सदस्य रुंगटाले केन्द्रीय कार्यसमितिमा व्यक्त गरेको विचारः

श्रद्दय सभापतिज्यू,

उपसभापतिज्यू तथा महामन्त्री द्वयज्यू, सहमहामन्त्री तथा सम्पूर्ण केन्द्रीय सदस्यज्यूहरु, सर्वप्रथम, प्रजातन्त्रका सर्वकालिन महान नेताहरुको विचार र ऐतिहासिक घटनाक्रमबाट बनेको यो लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यमा मनोनित हुन पाउँदा आफूलाई गौरन्वित ठानेको छु । यसका लागि समआदरणीय सभापति तथा पदाधिकारी लगायत सम्पूर्ण नेताज्यूहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

सभापतिज्यू, विगत चारदिनदेखि जारी यस केन्द्रीय कार्यसमितिको बैठकमा पहिलो पटक सहभागी भएर म आफ्ना केही धारणाहरु राख्ने अनुमाति चाहन्छु ।

हुनत, यसअघि बोल्नुहुने अधिकांश सदस्य तथा अग्रज नेताहरुले मुलुकको समग्र राजनीतिक, आर्थिक, सामाजिक लगायतका विषयमा धेरै महत्वपूर्ण विचारहरु राखिसक्नु भएको छ ।

सबैको चासो र चिन्ता मुलुकको वर्तमान विशम परिस्थितिबाट देश र जनतालाई कसरी पार लगाउने र यसका लागि कांग्रेसको भूमिका के भन्ने नै हो ।

वास्तवमा अहिलेको सबैभन्दा गम्भीर चुनौती भनेको मुलुक र जनतालाई आर्थिक मन्दीको चपेटाबाट कसरी पार लगाउन सकिन्छ र यसका लागि हाम्रो पार्टी समेत सहभागी भएर बनेको सरकारले जनतामा नयाँ आशा र भरोसा कसरी जगाउन सकिन्छ भन्ने नै हो ।

१. उद्योगधन्दा धरासायी भएका छन् । भएका उद्योगधन्दाहरुको उत्पादनले पनि बजार पाउन सकिरहको छैन । तरलता अभावको कारण खपतमा अत्याधिक ह्रास आएको छ । लागनीसँगै रोजगारीको वातावारण न्यून भएको छ । परिणाम स्वरुप नयाँ लगानीकर्ताहरुको संख्या न्यून हुँदै गएको मात्र होइन, भएका उद्योग व्यवसायहरुको स्थिति पनि दयनिय हुँदैछ ।

लागत बृद्धिको कारण मूल्यबृद्धि र बजारभाउ आकासिँदो छ । निर्यात घटेको छ । बैकहरुमा तरलता थुप्रिएको अवस्था छ र पनि राष्ट्रबैकको गलत र असान्दर्भिक नीतिकाकारण लगानीमैत्री वातावरण ब्रन्न सकिरहेको छैन ।
अहिलेको अर्थतन्त्र आन्तरिक राजस्वमा नै निर्भर छ । आन्तरिक खपतमा अत्याधिक ह्रासका कारण राजस्वमा पनि ह्रास हुने निश्चित छ । जसकाकारण विकास खर्च प्रभावित हुँदा अर्थतन्त्र र विकासको गति झन ओरालोतिर जाँदैछ ।  
फलस्वरुप मुलुक र जनतामा चरम निराशा छाउँदै छ ।

छिमेकी मुलुकहरु डब्बल डिजीटको आर्थिक बृद्धितिर लम्किरहेका छन् । र त्यसको फाइदा नेपालले कसरी लिने भन्ने कुरामा हामीले विचार पुर्याउनु पर्छ ।

हामी सधैभरी रेमिटेन्सकै भरमा बाँच्ने कि नेपालभित्रै उद्यमशीलताको वातावरण बढाएर आर्थिक परनिर्भरतालाई कम गर्दै जाने ? यो आजको यक्ष प्रश्न हो ।

अतः नेपाली कांग्रेसले अबलम्बन गर्ने राजनीतिक सिद्धान्तसँगै यसले अंगालेको आर्थिक नीतिले मुलुक र जनतालाई सही मार्गमा अघि बढाउन सक्नु पर्दछ । यसका लागि पार्टीले आगामी महासमिति बैठकमा सम्पूर्ण युवाशक्तिलाई आकर्षित गर्ने रणनीतिक कार्ययोजना सहितको आर्थिक नीति तय गरी कांग्रेसले यसको नेतृत्व लिन सक्नु पर्दछ ।
र आवश्यक परे, यसका निम्ति महासमिति बैठकभित्र विशेष सेशनमा गम्भीर बहसमार्फत निश्कर्षमा पुग्न जरुरी छ भन्ने ठानेको छु ।

२. सभापति महोदय, नयाँ संविधानको जारीसँगै यहाकै नेतृत्वमा मुलुकमा दुई चरणका आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भए । जसबाट जनताले अपेक्षा गरेका थिए कि, अब नयाँ लोकतान्त्रिक संविधानको सफल कार्यान्वयनमार्फत मुलुकले विकास र संमृद्धिको गति लिने छ । तर, त्यो अपेक्षाकृत गतिमा हुन सकिरहेको छैन । फलस्वरुप जनतामा राजनीतिक दलसँगै राज्यप्रति पनि चरम निराशा छाउँन थालेको छ । यही मौकामा सामाजिक सदभाव विथोल्ने गतिविधिहरु देशका विभिन्न भागमा विस्तारै बढ्दै छ । केही दिनअघि सर्लाहीको घटनाको कारण वीरगञ्जमा गत शनिबार लाठिचार्जको स्थिति उत्पन्न भयो, जुन आफैँमा दुःखद घटना हो ।

नेपाली कांग्रेस सबैभन्दा बढी जिम्मेवार दल भएको नाताले यस्ता गतिविधिहरुप्रति समयमै सचेत भई थप संवेदनशील हुन जरुरी छ ।

३. सभापतिज्यू, आउँदै गरेका दशैँ, तिहार, छट जस्ता चाडबाडहरुको अगाडि बस्दै गरेको यो केन्द्रीय कार्यसमिति बैठकबाट देश र जनताको दैनिक जीवनमा प्रत्यक्ष लाभ पुग्नेगरी पार्टी र पार्टी सहभागी सरकारले के कस्ता राहतका योजना दिन सकिन्छ, यसतर्फ पनि हामीले ध्यान दिन जरुरी छ ।

वर्षौँदेखि कृषि क्षेत्रमा देखिएको मल, बीउको अभावमा यसपटक केही कमी आएपनि व्यवसायिक कृषि पेशामा संलग्न उखु किसानहरु अझै पनि आफ्नो उत्पादनको बजारमूल्य पाउन सकिरहेका छैनने । कृषिप्रधान मुलुकको रुपमा परिचित नेपालमा अझै पनि करोडौँ रुपैयाँको चामल, चिनी लगायतका खाद्यन्न विदेशबाट आयात गर्नु परिरहेको छ ।

अनियन्त्रित बजार भाउका कारण उपभोक्ताहरुको चुल्हो निभ्ने स्थितिमा छ। यसअवस्थामा विपन्न गरिव किसान, मजदूर, विद्यार्थीको राहतका निम्ति राज्यले दिनसक्ने सेवा, सुविधाका सबै विकल्पबारे पार्टीले स्पष्ट निर्देशिका बनाएर सरकारलाई कार्यान्वयनको दिशामा अग्रसर गराउन जरुरी छ ।

अन्त्यमा, सभापति महोदय, कतिपय केन्द्रीय सदस्यज्यूहरुबाट पार्टीको आसन्न महासमिति बैठक काठमाडौं बाहिर विशेष गरी मधेस प्रदेशमा गर्ने प्रस्ताव पनि यस बैठकमा गर्नु भएको छ । यो प्रस्तावको म पनि समर्थन गर्न चाहन्छु । मधेस प्रदेशका प्रमुख शहरमध्ये, क्रान्तिको विगुल फुकेको शहरको नामले परिचित ऐतिहासिक नगरी वीरगञ्जमा उक्त महासमिति बैठक आयोजना गर्न सकिएमा यसले समग्र मधेस प्रदेशमा पार्टी संगठन मजबूद बनाउन थप मद्दत नै पुग्ने छ भन्ने विश्वास लिएको छु ।

बैठकमा बोल्न समय दिनु भएकोमा सभापतिज्यूप्रति आभार व्यक्त गर्दै सबै नेता तथा सदस्यज्यूहरुले मेरो विचार ध्यानपूर्वक सुनिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु ।

जय नेपाल ।
मितिः २०८०/०६/०८

 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update