हिमाल दैनिक
सभापति देउवाले भनेः चुनावी गठबन्धनको विषय परिस्थितिले निर्धारण गर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले अंगिकार गरेका शासकीय स्वरुप र संसदीय लोकतान्त्रिक व्यवस्थाबाहेकका कतिपय असान्दर्भिक विषयवस्तुहरुको अध्ययन गरी संशोधन गर्न सकिने बताएका छन्।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मलेन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठकको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधानका परिवर्तनीय विषयहरुबारे गम्भीर छलफल गरी संशोधन गर्न सकिने बताए।

यसैगरी पार्टीभित्र महामन्त्री गगनकुमार थापा लगायत अल्पमत पक्षले कम्युनिष्टहरुसँगको चुनावी गठबन्धनको विषयबारे विवाद चर्काइरहेकै बेला सभापति देउवाले विगतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटन र संविधानमाथिको प्रहारबाट संविधानलाई जोगाउन बाध्यात्मक परिस्थितिका कारण गठबन्धनमा गएको बताए।

संविधान र चुनावी व्यवस्था अनुसार, कुनै पनि दलले एकल बहुमत ल्याउन सक्ने स्थिति नभएको भन्दै यस्तो परिस्थितिमा विगतमा भएको पार्टी निर्णय अनुसार गठबन्धनको आवश्यकताबारे तत्काल विवादमा अल्झिन आवश्यक नभएको उनले बताए।

साथै उनले आगामी दिनमा चुनावी गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे आवश्यक समयमै छलफल र निर्णय गर्न सकिने भन्दै सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमा देखिएको गठबन्धनको विषयमा उब्जिएको विवाद नबढाउन पनि आग्रह गरे।

पार्टीका अन्य पदाधिकारी र अल्पसंख्यक पक्षका नेताहरुले पार्टी नेतृत्वको अक्षमताका कारण जनताको मोेहभंग भएको भनि आलोचना गर्दैआइरहेको बेला सभापति देउवाले सम्बोधनको सुरुवातम भने, धेरै साथीहरु आउन चाहँदा चाहँदै पनि आउन नपाउनेस्थितिले कांग्रेसप्रति जनताको कति आकर्षण रहेछ भन्ने स्पष्ट हुन्छ।

साथै उनले देशका सबै लोकतान्त्रिक परिवर्तनको नेतृत्व मात्र होइन, अन्तरिम संविधानदेखि वर्तमान संविधान जारी गर्ने कार्यको नेतृत्व कांग्रेसले नै गरेको मात्र होइन, त्यसको सफल कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा भएको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानको रक्षामा कटिबद्ध रहन आग्रह गरे।

आजको कार्यक्रममा सहभागीहरुलाई पार्टी सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले स्वागत मन्तव्यसहित गरिन भने महासमितिको विषय प्रवेश उपसभापति तथा कानून मन्त्री धनराज गुरुङले गरेका थिए।

 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update