हिमाल दैनिक
गगनको मोडेस्ट प्रोपोजल: अख्तियारले डामेका, आयोगले पोलेदेखि सहकारी ठग र दोहोरो नागरिकताधारीलाई घर फर्काइदिउँ

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अख्तियारले डामेका, आयोगले पोलेकादेखि सरकारी जग्गामा आखाँ लगाएसँगै सहकारी ठग र दोहोरो नागरिकता राख्ने सबैलाई घर पठाएर निश्पक्ष अनुसन्धान गर्न सुझाव दिएका छन्।

प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकको सून्य समयमा बोल्दै सांसद थापाले संसदमा जारी सत्ता र प्रतिपक्षी दलका सांसदबीचको दोहोरीले सदनको कारबाही प्रभावित भइरहेको अवस्थामा सभामुखसमक्ष यस्तो प्रस्ताव राखेका हुन्।

विगत केही दिनदेखि सत्ता र प्रतिपक्षी दलका सांसदहरुबीच विभिन्न विषयलाई लिएर एकअर्काप्रति आलोचना र विरोधसँगै सदनको कारबाही प्रभावित भइरहेको बेला उनले यही पाराले सदनमा मूल विषयले प्रवेश पाउन नसकिरहेको जिकिर गरे।

उनले भने, ‘यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो। अब यसो गरौँ, आशनको दायाँ बस्ने होस् कि वायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्, अख्तियारले डामेको, आयोगले पोलेको, र सरकारी जग्गामा आँखा लगाएको झण्डावालाको झण्डा छोपेर घर पठाइदिउँ। अनि सहकारी ठग्नी, दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन, घरै पठाइदिएर अनुसन्धान गर्न लगाउँ।’

महामन्त्री थापाले विगतका बैठकमा एक मिनेटभित्रै धेरै विषय समेट्न हतार हतार गरी बोल्दै आएपनि आज हल्का पाराले व्यंग्यात्मक शैलीभा भने, ‘यत्ति गर्न सकेदेखि के होला? निदोर्ष फर्किएर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौँला। दोषी भए दण्ड व्यहोर्नु होला।’

उनले थप्दै भने, ‘अलिअलि सफागर्न सकेदेखि अनि बडो मज्जाले यहाँ मिटरव्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको प्रतिवेदनका बारेमा जमेर सार्थक छलफल गर्न सकन्थ्यो होला। होइन भने, यताकोले उता देखाउने, उताकोले यता देखाउने यो दोहोरी चाही चलि नै राख्ने भो। धन्यवाद।’
 

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update