हिमाल दैनिक
खरानीको डल्लाजस्तो वर्तमान सत्तागठबन्धन कुनै पनि बेला फुट्न सक्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला फुट्न सक्ने दाबी गरेका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन खरानीको डल्लोको संज्ञा दिँदै भने, ‘त्यो खरानीको डल्लो सुक्यो भनेपनि फुट्छ, भिज्यो भनेपनि फुट्छ। खरानीको विशेषता भनेकै सुक्यो भने पनि फुट्ने हो, सुकेर फुट्छ कि भनि भिजाउनु भो भने पनि फेरि फुटिहाल्छ।’

गठबन्धनमा आउनसक्ने विभाजनको संकेत गरेका ओलीले यसका बाबजूद सरकार बदल्ने सत्ताको खेलमा आफूहरु नरहेको दाबी गरे।

गठबन्धनको विषयलाई लिएर सत्तारुढ नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठकभित्र पनि पार्टी पदाधिकारी र महासमिति सदस्यहरुबीच चर्को विवाद भएको थियो। विशेषगरी निर्वाचनपूर्व दलहरुबीच चुनावी तालमेल गर्ने वा नगर्ने मुद्दामाथि भएको विवादले विगत एक वर्षदेखि सत्ता साझेदार दलका रुपमा संघदेखि प्रदेश तहसम्म सहयात्रामा रहेका दलहरुबीच केही चिसो पसेको आशंका राष्ट्रिय राजनीतिमा बढ्न थालेको छ।  

अध्यक्ष ओलीले आफुहरु अहिले मिसन ८४ मा लागेकाले कसैको काँध थाप्ने काम नगर्ने तथा जनतामा आशा र उत्साह दिन लागिपरेको बताए।

देशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रुपमा रहेको सत्तारुढ नेपाली कांग्रेसको भूमिकाप्रति रोष प्रकट गर्दै ओलीले मुलुकको राष्ट्रियता र अर्थतन्त्रप्रति चिन्ता नलिएको आरोप लगाए।

‘कांग्रेसका त्यसप्रकारको सोच, विचार र चिन्तन केही पनि छैन। उसले सरकार, सत्तामा पुग्ने र त्यसमा टिक्के र टिकाउने बाहेक अरु केही पनि थाहा पाउँदैन,’ ओलीले थप्दै भने, ‘अरु कुरा थाहा पाउन छोड्यो कांग्रेसले। कांग्रेस अब पहिलेको जस्तो कांग्रेस तपाइहरुले खोेजेर भेटिँदैन अहिले। थोत्रो कांग्रेस भो। कांग्रेस अहिले सत्तामा पुग्ने र टिकाउने खेलमा लागेर मुलुकमा निराशा र अराजकता बढ्दा पनि चुप लागेर बसेको आरोप समेत उनले लगाए।
 
त्यस्तै उनले सुशासन दिएको दाबी गर्ने सरकारले आफैले बनाएको आयोगले दोषी देखाएका मन्त्रीले राजिनामा दिएर नैतिकता देखाउनु पर्ने जिकिर गरे।

विगतमा नेपाल टेलिकमको प्रविधि जडान गर्ने नाउँमा टेरामोक्स खरिद प्रकरणमा संलग्न भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा वयानका लागि पुगेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लगायत अन्य दुई मन्त्रीको राजीनामा माग गर्दै एमालेले सदनमा पछिल्लो समय दिनहुँजसो अवरोध गर्दैआइरहेको छ।

साथै ओलीले सत्य निरुपण तथा मेलमिलाप विधेयक छिटो पास गर्नुपर्ने बताउदै पिडितको पक्षमा आएको विधेयकको कसैले विरोध नगर्ने जिकिर गरे।

अध्यक्ष ओलीले संविधान संसोधन आवश्यक भएपनि एजेण्डाविहिन रुपमा संसोधन हुन नसक्ने धारणा राखे। उनले कुन कुन विषयमा संविधान संसोधन गर्ने विषय सतहमा नआएकाले आफुहरुले चर्चा नगर्ने गरेको पनि बताए।

 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update