हिमाल दैनिक
सदनभित्र कांग्रेसको घेराबन्दीमा परे गृहमन्त्री लामिछाने, नारावाजी र वेल घेराउपछि बैठक स्थगित

नेपाली कांग्रेसका सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै शुक्रबारको दोस्रो बैठक पनि अवरुद्ध पारेका छन्।

पहिलो बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको आरोप लागेका गृहमन्त्री लामिछानेलाई सदनमा कुनै पनि प्रस्ताव पेश गर्न नदिने अडान लिएपछि सभामुख देवराज घिमिरेले उक्त बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
त्यसपछि सत्ता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक लगायतका नेताहरुसँग वार्ता गरी सहमतिको माध्यमबाट सदनको कारबाही अघि बढाउन कोशिश गरेका थिए।

तर, कांग्रेसले यसअघि विपक्षी बेञ्चमा बसेको बेला तत्कालिन नेकपा एमाले र लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले अघिल्लो सरकारका मन्त्रीहरुको विषयमा विवादस्पद समाचार आएकै भरमा सदनमा राजीनामा माग गर्दे लामो समय सदन अवरोध गर्ने गरेको उल्लेख गर्दै सहकारी सहकारीको रकम हिनामिना गरेको आरोप लागेका लामिछानेलाई सदनमा कुनै पनि प्रस्ताव पेश गर्न नदिने तर, अर्थमन्त्रीको आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफलको प्रक्रिया अघि बढाउन दिने अडान लिएका थिए।

त्यसको प्रतिवाद गर्दै सत्ता पक्षका प्रमुख सचेतक तथा नेताहरुले यस्तो कार्यले गलत नजिर बसाल्ने तर्क गर्दै सदन सुचारु गर्न माग गरे।

सत्ता र प्रतिपक्षबीच सहमति नजुटेपछि सभामुखले अपरान्ह ४ः१० बजेतिर संसदको दोस्रो बैठक सुरु गरे।

सदनको कारबाही सुरु गर्दै पूर्वनिर्धारित कार्यसूचिमा उल्लेखित बुँदा अनुसार, राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयकमाथि सदनमा विचार गरियोस् भन्ने प्रस्ताव राख्न गृहमन्त्री लामिछानेलाई समय दिए।

सदन सुचारु हुनासाथ उभिएर विरोध जनाइरहेका कांग्रेसका सांसदहरुले लामिछाने प्रस्ताव पेश गर्न रोष्ट्रममा पुग्नु अगावै वेल घेराउ गर्दै सहकारी पीडितलाई न्याय दे, सहकारी ठगीको आरोप लागेका गृहमन्त्री राजीनामा देउ, जस्ता नारा लगाउँदै सदन अवरुद्ध पारे।

त्यसपछि सभामुख घिमिरेले आजको बैठकको कार्यसूचिका सबै बुँदाहरु हटाएको घोषणा गर्दै चैत ४ गतेसम्मका लागि बैठक स्थगित गरे।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update