हिमाल दैनिक
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।  

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले आज बिहान कपिलवस्तुबाट पूर्वसभामुख महरालाई नियन्त्रणमा लिएको राससलाई जानकारी दिनुभयो । नेता महरालाई कपिलवस्तुबाट अहिले काठमाडौँ ल्याइएको  प्रवक्ता ढकालले जानकारी दिनुभयो । यसअघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बयान लिइ  कागज गरी छाडेको थियो ।

यसैबीच सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिनुभएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट ९भेप० मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन पनि मुछिएका छन् । राहुललाई भदौ १३ गते प्रहरीले पक्राउ गरिसकेको छ भने पुन पनि केही दिनअघि पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update