हिमाल दैनिक
सदनको अवरोध खुलाउने विषयमा छलफल निष्कर्षबिहिन

सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुबाटारमा भएको छलफलमा दलहरुबीच सहमति हुन नसकेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाउनुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रसरतामा बैठक बोलाइएको थियो । सो बैठकमा सहमति नभएपछि सभामुखले प्रमुख सचेतकहरुको बैठक बोलाउनु भएको उहाँका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । दलहरुबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाका आजको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

    बालुवाटारको बैठकमा  सभामुख घिमिरे, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौलालगायतको सहभागिता थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थिती थियो ।

    सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनको कारबाही अवरोध गर्ने बताउँदै आएको छ । दलहरुबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची थियो ।

    सभामुखले आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम रद्द गरेर सदन खुलाउन पहल लिनुभएपनि सहमति हुन नसकेको उहाँको सचिवालयले जनाएको छ । सभामुखले सोमबार पनि प्रमुख दलका नेताहरुसँग सिंहदरबारमा छलफल गर्नुभएको थियो । सो छलफलमा समेत दलहरुबीच सहमति हुन सकेको थिएन ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update