हिमाल दैनिक
अहिलेको समस्याको जड निर्वाचन प्रणालीलाई बदल्न कांग्रेस र एमाले मिल्नुको विकल्प छैनः नेता कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात गर्ने समय आएको बताएका छन्।

कोइरालाले चौतर्फी रुपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरुले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताएका हुन्।

बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ को सम्मेलनलाई शनिबार सम्बोधन गर्दै निर्वाचन प्रणाली नै अहिलेको समस्याको मुल जड भएको उनले बताए।

नेता कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने धारणा राखे।

२०६४ को संविधान सभापछि लगातार ४ जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधान सभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए, कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।’

कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए।

कोइरालाले सहकारी ठगि प्रकरणमा मुछिएका गृहमन्त्री रबि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद चल्न नदिने अडान समेत दोहोर्याए।

‘हामीले गृहमन्त्रीको राजिनामा मागेका होइनौं, संसदिय छानबिन बनाऔँ, सहकारी ठगिमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ पनि सरकार र सरकारमा रहेका दल संसदीय समिति बनाउन सरकार किन डराएको?’ कोइराला प्रश्न गर्दै भने।

अर्को प्रसङ्गमा कोइरालाले पार्टीका सबै आपसी मनमुटाव र नमिठा बिगत बिर्सेर पार्टी संगठनमा एकजुट हुन स्थानीय नेता एवं कार्यकर्तालाई निर्देशन दिए। पार्टी एक भए कुनै पनि निर्वाचनमा कांग्रेसले गठबन्धनका नाममा कसैको बैशाखीको सहारा लिनु नपर्नुे बताए।

लोकतान्त्रिक पार्टी भएकाले महाधिवेशनका समयमा आन्तरिक प्रतिश्पर्धा र गुटबन्दी देखिनु सामान्य भएको बताउँदै कोइराला भने, ‘तर त्यो तिक्तता र गुटबन्दीलाई लिएर सधै हिडिराख्नु राम्रो होइन।’

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update